जेठ १० बाट पोष्टपोन्ड भयो ‘दान्भी’

जेठ १० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘दान्भी’ पोस्टपोन्ड भएको छ । अब, यो फिल्म जेठको १० गते रिलिज नहुने भएको जानकारी वितरक करण श्रेष्ठले दिएका छन् । 

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मको टिजर रिलिज भइसकेको छ । टिजरमा नायिका पूजा शर्माको दमदार एक्सन अवतार हेर्न सकिन्छ । दर्शकले टिजरपछि यो फिल्मलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । 

तर, जेठको १० मा अन्य दुई फिल्म पनि आउने भएपछि यो फिल्म पोस्टपोन्ड गरिएको हो । वितरक करण क्रेजीले मेरो फिल्मसँग भने–‘हामीले चलचित्र संघसँग पनि यो विषयमा कुरा गर्‍यौं । उहाँहरू पनि हाम्रो निर्णयमा सकारात्मक हुनुभयो । एकसाथ ३ फिल्म रिलिज हुनु नेपाली फिल्म क्षेत्रका लागि पनि सुखद कुरा होइन । यसैले, हामीले फिल्मको रिलिज मिति पोस्टपोन्ड गरेका हौं ।’

वितरकले नयाँ मिति असार ७ गतेलाई दिएपनि निर्देशक तथा निर्माताले फाइनल गरिसकेका छैनन् । निर्देशक रुपेशले मेरो फिल्मसँग भने–‘हामीलाई वितरकले केही मितिहरु दिनुभएको छ । तर, हामीले कुन मितिमा रिलिज गर्ने पक्का गरेका छैनौं । संभवत भोलि नायिका पूजा शर्माको जन्मदिनमा नयाँ मिति सार्वजनिक गर्छौ होला । 

यो फिल्ममा पूजा शर्मा, कुन्साङ बोमजोम लगायतका कलाकारको अभिनय छ ।