हल्लाखल्ला नगरी कसैको नजरमा परिँदैन रहेछ – नायिका भावना गुरुङ

नायिका/मोडल भावना गुरुङले तीन दर्जन बढी म्युजिक भिडियो र केही फिल्ममा काम गरिसकेकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘स्वर्ग मेरो गाउँ’ रिलिजको तयारीमा छ । फिल्म रिलिज डेट नजिकिदै गर्दा भावना गुरुङ्गसँग उनका व्यक्तिगत र फिल्मका बारेमा मेरोफिल्मले गरेको कुराकानी…

फिल्ममा तपाईको भुमिका कस्तो छ ?
मेरो भुमिकाको बारेमा भन्नुपर्दा अलि चल्चले स्वभाबकी युवती । शिक्षीत भइसकेपछि आफ्नो गाउँको बिकासको लागि केही गर्न खोज्ने युवतीको भुमिका निर्वाह गरेकिछु ।

भावना गुरुङ्गको रियल लाइफ र रिल लाइफ कतिको सिमिलर छ ?
अँ ! सिमिलर नै छ । म अलि चल्चले नै छु । हुन त म परिवारकी जेठी छोरी हुँ । तर पनि म आफ्नो बहिनीहरु भन्दा सानो ठान्छु । मेरो स्वभाब बच्चाको जस्तै छ ।

रियल लाईफकै क्यारेक्टर फिल्ममा गर्दा कतिको सजिलो हुँदो रहेछ ?
दुबै सजिलो पनि भयो असजिलो पनि भयो । किनभने म घरमा एक्लै हुँदा पनि ऐनाको अगाडी एक्टिङ गर्छु, नाच्छु, उफ्रिन्छु । तर त्यही स्वभाब फिल्मको सेटमा देखायो भने चाँही अली सुहाउँदैन । तर यसले क्यामरासँग फ्यामिलियर हुन चाँही सपोर्ट गर्दो रहेछ ।

यो भन्दा अगाडी पनि फिल्महरु गरिसक्नुभयो, यो फिल्मले तपाईको करियरलाइ कतिको फाईदा पुग्ला ?
यो फिल्म प्रति धेरै आशा राखेकी छु । पक्कै मेरो करियरलाई फाइदानै हुन्छ होला । किनभने फिल्मको स्टोरी मन पराएको थिए । दर्शकहरुले पनि मन परादिनुहुन्छ भन्नेमामा आशाबादि छु ।

क्यारेक्टर वाइज अरुफिल्महरुमा भन्दा यो फिल्ममा कतिको भिन्नता छ ?
पक्कै क्यारेक्टर वाइज भिन्न छ । किनभने मैले एउटा गुरुङ फिल्म गरेको थिए जसमा टिपिकल गाउँले भुमिका निभाएको थिए । तर यो फिल्ममा मैले एक पढेलेखेको छोरीको भूमिका गरेकी छु । र म शहरमा हुर्केको कारणले मेरो हाउभाउ, ड्रेस अपहरु मोर्डननै हुन्छ । र अभिनयको हिसाबमा पनि अन्य फिल्म भन्दा बढी मेहनत गरेको छु ।

कमर्सियल्ली भावना गुरुङ्ग फिल्ममा किन आउन सकेन ? 
सबैजनाले त्यही प्रश्न सोध्नुहुन्छ । म पहिला फेसन शो मार्फत आएकोले होला त्यतै तिर बढि ध्यान दिए । पहिला म मोडलको रुपमा काम गर्थे भने पछि कोरियोग्राफर पनि भए । त्यसपछि फेसन शोहरु पनि अर्गनाइज गर्न थाले, साथै साइड बिजनेस पनि गर्थेँ त्यही भएर समयको अभाबका कारण पनि हो ।

राम्रो फिल्मको अफर तपाईलाई किन आएन होला ?
सायद मेरो आफ्नै मेहेनत कम भयो जस्तो लाग्छ । म अलि अल्छि छु । अनि आफूलाई त्यति हल्लाखल्ला गरेर हिड्न पनि आउँदैन । हल्लाखल्ला नगरि यहाँ कसैको नजरमा परिँदैन रहेछ । त्यसैले होला ।

फिल्म ईन्डस्ट्रिमा आउनु शोख, इच्छा वा बाध्यता के हो ?
साच्चै भन्नपर्दा मेरो रहर हो । बच्चादेखिनै एकदम रहर गर्थे । फिल्मको राम्रो राम्रो गीतहरु बज्ने बित्तिकै म पनि नाच्न थालिहाल्थे रे । त्यसैले रहरनै भन्नुपर्ला ।

पाई र्याम्प वाक, म्युजिक भिडीयो हुँदै फिल्ममा आउनुभयो समग्रहमा कस्तो अनुभब भइरहेको छ ?
हुन त यो एउटै टाइपकै हो । भिन्नता चाँही आफैले भिडीयो एड, इभेन्टहरु गर्दा, रिजल्ट छिट्टै हेर्न पाइन्थ्यो भने फिल्म लाईनमा रिजल्टको लागि धेरै कुर्नु पर्ने रहेछ । फिल्ममा शूटिङ, डबिङ, फोटोशूट ,प्रचारप्रसारले गर्दा धेरै समय लाग्ने रहेछ । त्यसैले अलि फरक अनुभब भइरेको छ ।

स्ट्यान्डर्ड लाइफस्टाइल मेन्टेन गर्न सजिलो छ ?
म अहिले त्यती पपूलर भैसकेकी छैन । मेरो काम धेरैले देखेकै छैन । त्यही भएर हामीलाई त दुखै छ किनभने महङ्गाई उत्तिकै छ । मोडल भईसकेपछि जहाँ पनि मेकअपसँगै राम्रो लुगा लाएर चिटिक्क भएर जानैपर्यो । तर मलाई चाँही गर्हो भएको छैन किनभने म आफै बिजनेस गर्छु ।

नेपाली फिल्म इन्डस्ट्रिमा तपाई कहाँसम्म पुग्न चाहानुहुन्छ ?
मैले अहिलेसम्म फिल्म इन्डस्ट्रिमै सधैँ काम गर्ने सोच बनाएको छैन । तर दुई चार ओटा फिल्म राम्रो खेल्ने रहर छ । आफ्नो सुन्दरता भन्दा पनि कामले चिनीन मन छ ।

आफूलाई फिजिकल्ली कसरी मेन्टेन गर्नुहुन्छ ?
मलाई प्रकृतिलेनै उपहार दिएको होला । किनभने म डाइटिङ पनि गर्दिन, एक्सरसाईज पनि गर्दिन तर पनि फिट रहन्छु । त्यसैले म यसलाई प्राकृतिक उपहार भन्न रुचाउछु ।


तपाई कस्तो मान्छेलाई मन पराउनुहुन्छ ?

पहिले चाँही मलाई मन पर्ने मान्छे अलि हेन्डसम होस् भन्ने सोच्थेँ । संगै हिड्दा जोडी सुहाउने हुनुपर्छ भन्ने सोच थियो । सायद दिमाग अलि बच्चै थियो होला । तर अहिले त्यस्तो सोच्दिन । अनुहार भन्दा पनि बानि ब्यवहार राम्रो भएको केटाहरु मन पराउँछु । जो व्याबहारिक होस् सबै कुरा बुझेको होस् । म, तिमी भन्दा पनि हामी र हाम्रो परिवार भन्ने सोच भएको मान्छे मन पर्छ । तर यसको मतलब मेरो कोही भएर बुझेर अनी भनेको चाँही होइन । मनमा त्यस्तो लाग्छ । कोही त्यस्तो आयो भने सोचौँला । अहिलेलाई सिङ्गल छु ।

स्वर्ग मेरोे गाउँ फिल्मलाई दर्शकले किन हेर्ने त ?
फिल्मले एकदमै राम्रो सन्देश दिन खोजेको छ । हाम्रो देशका शिक्षित ब्यक्तिहरु सबै बिदेश गएभने नेपालाई कसले बनाउने भन्ने बारेमा रहेको छ । यसैमा आधारित रहेर फिल्मले अर्थमूलक सन्देश दिन खोजेको छ । परिवारसँगै आएर हेर्न सक्ने फिल्म हो, कतै असजिलो सिन छैन । मेरो भनाईको मतलब फिल्ममा छाडापन छैन । त्यसैले दर्शकहरुलाई हलमा आएर फिल्म हेर्न आग्रह गर्छु । साथै मेरो कामको राम्रो नराम्रो प्रतिकृया दिन पनि अनुरोध गर्छु ।