विक्रम आदित्य र पूजा श्रेष्ठ बने फेश अफ नेपाल २०१८

विक्रम आदित्य महासेठ र पूजा श्रेष्ठलाई औपचारिक रुपमा फेश अफ नेपाल २०१८ घोषणा गरिएको छ । सम्बन्धीत क्षेत्रमा दुवै जनाको अनुभव, उपलब्धी तथा मोडलका रुपमा उनीहरुको प्रस्तुति एवं व्यक्तित्व लगायतको पक्षलाई मुल्यांकन गरी विक्रम र पूजा २०१८ एशिया मोडल फेस्टिभल फेश अफ नेपालका रुपमा चयन भएका हुन् । विक्रम र पूजालाई कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बादल साबु र गत सिजनका विजेता सन्दिपा लिम्बुले विजेताको स्यास र पुरस्कार प्रदान गरेका थिए । विक्रम यस अघि मोडल हन्ट नेपाल सीजन थ्रीका विजेता हुन् भने पूजा मिस सुप्रानेसनल २०१६ का विजेता हुन् । विक्रम र पूजा दुवै जना मोडलिङमा सक्रिय रहँदै आएका छन् ।

एशिया मोडल फेस्टिभल फेश अफ नेपाल कार्यक्रमको यो तेस्रो संस्करण हो । कोरिया मोडल एसोसिएसनको सहकार्यमा पूणे फेसन वीकले आयोजना गर्दै आएको यो कार्यक्रम अन्तर्गत यस अघि २०१६मा एल हाङ र राई भाष्कर बानियाँ तथा २०१७मा सन्दिपा लिम्बु र प्रविण राना मगर फेश अफ नेपालका रुपमा चयन भएका थिए । नेपाली मोडलहरुले अन्तर्राष्ट्रिय मंचमा आफ्नो र देशको परिचय फराकिलो बनाउने अवसर प्रदान गर्ने यो कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले निर्वाह गरेको थियो । मात्र तीनको तयारी र व्यवस्थापनमा राम्रो र सुन्दर प्रस्तुति दिन सकिएकोमा कार्यक्रमका व्यवस्थापक संस्था नेक्स्ट मोडल्स नेपालका यतना पाण्डेले खुशी व्यक्त गरिन् ।

पाँच जना युवा र पाँच जना युवती मोडलको सहभागिता रहेको यो फेसन कार्यक्रममा डिजाइनरद्वय उत्कृष्ट वीर विक्रम खड्का र सनम शर्मा तथा रेड भेल्भेट बुटिकका पहिरनहरुमा मोडलहरुले प्रस्तुति दिएका थिए । कार्यक्रम रोजिन शाक्यको कोरियोग्राफी र उद्घोषणमा संचालन भएको थियो । २०१८ एशिया मोडल फेस्टिभल फेश अफ नेपालका रुपमा चयन भएका विक्रम र पूजा यही अप्रिल २५ देखि मे महिनाको ६ तारिख सम्म दक्षिण कोरियामा संचालन हुने एशियाको सबैभन्दा वृहत् र चर्चित मानिएको एशियाली मोडल र फेसन जगत्का ठूलो अवसर एशियन मोडल फेस्टिभलमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । सो कार्यक्रममा नेपाल सहित एशिया क्षेत्रका मंगोलिया, कोरिया, भारत, चीन, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, जापान, भियतनाम, मलेशिया, हङकङ लगायत २७ मुलुकका मोडलहरुको उपस्थिति रहनेछ ।