मैले देखाउनै नहुने कुरा देखाएकी छैन – गायिका ज्योती मगर

ज्योती मगर । नामै काफी छ । नेपाली कला क्षेत्रको चर्चित यो नाम विभिन्न तवरवाट बेला बेलामा चर्चामा आईरहन्छ । कहिले भल्गर प्रस्तुतीको कारण त कहिले उत्ताउलो गित संगितले ज्योतीलाई सधैँ विवादमा राखिरह्यो । विवादित ज्योती मगरसँग गरिएको कुराकानी :

सधैं अर्धनग्न रूपमा स्टेज चढ्नुहुन्छ, कहिलेसम्म बिक्छ यो जवानी ?
जहिलेसम्म बिक्छ विकाउने हो । बिक्न छोड्यो भने नयाँँ उपाय आइहाल्छ । सबैलाई थाहै छ, यो मनोरञ्जनको संसार हो । आफ्ना सबै काम छोडेर आउने दर्शकलाई अलिकति पनि मनोरञ्जन दिन सकिएन भने त त्यसको अर्थ पनि भएन नि ।

अरूले मज्जाले कपडा लगाएर प्रस्तुति दिँदा अहिलेसम्म सूर्य पश्चिमबाट उदाएको छैन, तपाईंलाई चाँही किन त्यो टाइपको कलाकार हुन मन लागेन ?
सबैले एउटै हिसाबले काम गरेर पनि भएन नि । अर्को कुरा ज्योति मगर पूरा मनोरन्जन दिने टाइपकी कलाकार हो । मैले देखाउनै नहुने कुरा त देखाएकी छैन नि ।

तर भल्गर शब्दचाँही किन बोल्ने ?
मलाई त रमाइलो लाग्छ । मैले गरेको कुरामा दर्शक हाँस्दा र मनोरन्जन लिँदा एकदमै खुसी लाग्छ । ज्योति मगर स्याड गीत गाएर धुरु–धुरु रुवाउने गायिका होइन । साहित्य र संगीतमा कहिलेकाहीं दुईअर्थी शब्द पनि रमाइलो हुन्छ । नारायणगोपालले नआऊ राति दारु पिएको बेला, मेरो हात सल्बलाउँछ भन्ने टाइपको गीत त उहिले गाएका थिए । अरूको विरोध नहुने, मेरो मात्र विरोध गरेर भएन नि । भित्र–भित्र विरोध गरेजस्तो गर्ने, अनि ज्योति नभै पनि नहुने ?

कम्मर मुनि २ इन्च र छातीमा एक टुक्रा कपडाको प्रस्तुति कहिलेसम्म चल्छ ?
अफकोर्स, ५० वर्ष पुगेपछि अलिकति नारी टाइपको भएर हिँड्नुपर्ला । साडी लगाउने, चुरा पोते लगाएर घरको काम गर्ने, मन्दिर जाने, भजन गाउने टाइपको पनि हुनेछ, तर अहिले त म जवान छु, अलिकति राम्री पनि छु । ज्यान आकर्षक छ । विगतमा मोटो भए कति खाइलाग्दो भनिन्थ्यो । पछि बिस्तारै दुब्लो ज्यान भएकातिर आकर्षित भए युवाहरू । पछि हाड मात्र बाँकी रहेकी केटीमा पनि आकर्षित भए, तर अहिले बिस्तारै फेरि मोटीहरूको समय आएको छ । म त आफ्नो फिगरमा एकदमै प्राउड गर्छु । अहिले वान पिस नलगाएर, देशविदेशका कार्यक्रममा स्टेज नतताएर बूढी भएपछि रहर गरेर त भएन नि ।

ज्योति मगरले नेपाली लोक संगीत बिगार्नु बिगारी भनेर आरोप लाग्दै आएको छ, कहिलेकाहीं यो क्षेत्र नै छाड्दिऊँ भन्ने लाग्दैन ?
यो ज्योति तातै खाऔं जली मरौं भन्ने स्वभावकी छैन । १३ वर्ष भयो, मैले यो क्षेत्रमा काम गर्न थालेको, मलाई त्यस्ता कुराको बालै लाग्दैन ।

स्टेज कार्यक्रममा साना बच्चाबच्चीदेखि ठूला बूढापाकासम्मका उपस्थित हुन्छन् । कम्तीमा आफू सजग भएर प्रस्तुत हुनुपर्छ भन्ने लाग्दैन ?
एउटा कुरा, कुनै पनि कार्यक्रममा जहाँँ ज्योति मगर उपस्थित हुँदैछे भन्ने खबर छ भने त्यो पूरै मनोरन्जन लिन आएको दर्शक हो । अनि अर्को कुरा मेरा दर्शक टिनएजर्स मात्र होइन, दारी–कपाल पूरै फुलेकाहरू पनि छन् । उनीहरू सबै मेरो प्रस्तुतिमा उफ्रिएको स्टेजबाट देखिरहेकै छु ।

स्वर पनि ठीकै हो । अभिनय पनि ठीकै–ठीकै हो, तर तपाईं त निकै व्यस्त हुनुहुन्छ । अचम्म लाग्दैन किन यति व्यस्त भएँ भनेर ?
मेरो प्रश्न पनि यही हो । म एकदमै ट्यालेन्टचाँही होइन । सबै कुरा ठीक–ठीकै टाइपको गर्छु, तर किन यति धेरै चर्चा अनि चियोचर्चो ? सबैले बलेको आगो ताप्छन् भनिन्छ, सायद अहिले मेरो आगो बलिरहेको छ र अरूले त्यो आगो तापिरहेका छन् कि ? म आफैं कन्फ्युज छु यार ।

ज्योति मगरले साडी, ब्लाउज लगाएर स्टेजमा उत्रने दिन कहिले आउला ?
त्यो पनि आउँछ, चिन्ता नलिनुस् । अहिले मैले गीत गाउँदै, नाच्दै मनोरञ्जन प्रदान गर्नुपर्छ । पूरै साडी–ब्लाउजमा प्रस्तुति दिँदा लड्ने र अल्झने डर हुन्छ ।

कहिलेकाहीं ज्योतिले अति गरी भनेर स्टेज कार्यक्रमबाट दर्शक फर्किए भन्ने समाचार आउँछ, कहिले गीतको छायांकनका क्रममा स्थानीयले लखेटे भन्ने खबर आउँछ । ज्योतिको ध्यान यतापट्टि जाँदैन ?
स्थानीयले लखेटे भन्ने खबरचाँही गलत हो । त्यो केही मानिसले रचेको षड्यन्त्र हो । कसले त्यो काम गरेको हो भन्ने पनि मैले बुझेकी छु तर मैले त्यो विषयलाई लिएर कसैसँग झगडा गरिन । मलाई कामले नै फुर्सद छैन । अनावश्यक हल्ला गर्नेहरूको पछि लागेर के गर्नु ?

छातीमा हात राखेर भन्नुस् त ? ज्योति मगर चल्नुको कारण हट प्रस्तुति नै हो नि ?
हट भनेर त मिडियाहरूले बनाउने मसला हो । म त्यति उपद्रो हट पनि छैन । अलिकति फरकचाँही गर्नुपर्यो । मलाई कुनै पनि कार्यक्रममा दर्शक नचाउन तथा उनीहरूलाई पूर्ण मनोरञ्जन प्रदान गर्न बोलाइन्छ । त्यसका लागि अलिअलि हट त हुनैपर्यो ।

विवाहचाँही नगर्ने ?
भनेजस्तो श्रीमान् पाइनु पर्यो नि । पाएँ भने विवाह गर्ने हो नत्र कोमल वली–२ पनि हुन सकिन्छ ।

ब्वाइफ्रेन्ड त होलान् नि ?
मलाई खासै झूट बोल्न आउँदैन । बुझ्नु न मिलाएर, तर एउटा समयमा एउटा मात्र ब्वाइफ्रेन्ड हुन्छ । अहिलेसम्म कति ब्वाइफ्रेन्ड भए भन्ने कुरा गनेर पनि कहाँ बसेकी छु र ?

कान्तिपुर साप्ताहिकका लागी रामजी ज्ञवालीले लिएको अन्तर्वातामा आधारित