‘पल्पसा क्याफे’मा पल्पसा बनिन् स्वस्तिमा

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाटकमा रुपान्तरण भएर मञ्चन हुन थालेको छ। १५ वर्षअघि   बजारमा आएको ‘पल्पसा क्याफे’ उपन्यास चर्चा त बटुल्यो नै ‘बेष्ट सेलर’ मदन पुरस्कार पनि जितेको थियो।

सबैतिर चर्चा कमाएको ‘पल्पसा क्याफे’ माथि फिल्म निर्माणका लागि धेरैले मागेका थिए तर नारायण वाग्लेले दिएनन्। निकै पछि अर्थात १५ वर्षपछि भने यहि उपन्यास नाटकमा हेर्न पाइएको छ। थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा यो उपन्यासमाथि नाटक मञ्चन गर्न थालिएको हाछ।

विमल सुवेदीले निर्देशन गरेको नाटकलाई नाट्य रूपान्तरण भने सुरज सुवेदीले गरेका छन् । नाटकको मुख्य पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्का देखिने भएकी छिन् । स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्ने बताइएको छ। स्वस्तिमाका साथमा समापिका गौतम, साजनकुमार सुनुवार, जेनु सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।

नाटक निर्माण गर्न निकै मेहनत गरेको निर्देशक विमल सुबेदीले बताए। उनले भने,‘ यो उपन्यासमा काम गर्न पाउनु मेरो लागि खुसीको कुरा हो । यसमा अभिनेत्री स्वस्तिमा खड्कालाई अभिनयमा सुहाउने देखेर उहाँलाई नै छनोट गर्यो। अन्त्यमा उहाँले खेल्ने उत्सुकता देखाएपछि हामीले नाटक अगाडी बढायौँ।’

हिजो पत्रकारसँगको कुराकाकानीमा अभिनेत्री स्वस्तिमाले नाटक गर्न धेरै वर्षको चाहाना पुरा भएको बताएकी छन्। उनी पहिलो पटक नाटकमा अभिनय गर्न लागेकी हुन्। फिल्म तथा म्युजिक भिडियोमा व्यस्त रहेकी स्वस्तिमा नाटकमा काम गर्दैछिन्। नाटकको नेपथ्यमा सुजन ओली, नवराज पराजुली, लेलिन बन्जाडे, रामप्रसाद बस्याल, रेनुका कार्की, रामकृष्ण परियार, राजेन्द्र श्रेष्ठ, देव न्यैपाने, आलोक लम्साल र अभिषेक गैरेले काम गर्नेछन्।