शिल्पाको उजुरीका कारण ‘रजतपट र ग्ल्यामर गफ’ अनिश्चितकालका लागि बन्द

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ कार्यक्रम अनिश्चितकालका लागि बन्द भएको छ । आज बसेको एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’ अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।

यसै साता सुवेदीले निर्माता छवि ओझासँगको अन्तरवार्तामा अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै उजुरी दिएकी थिइन् । यसैको आधारमा एपीवान बोर्ड बैठकले सुवेदीका दुवै मनोरन्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । यस अघि नै शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न सुवेदीलाई पत्र काटेको थियो ।

तर, यता कार्यक्रम प्रस्तोता सुवेदीले कार्यक्रम बन्द भए नभएको आफुलाई जानकारी नभएको बताए । उनले बिहिबार कार्यक्रम प्रसारण नभएको खण्डमा मात्रै कार्यक्रम बन्द भएको मेरोफिल्मसँगको कुराकानीमा बताए । गतवर्ष पनि यो कार्यक्रम विवादमा तानिएको थियो । अभिनेत्री पूजा शर्माले आफ्नो शारीरिक वनावटमाथि सुवेदीले टिप्पणी गरेको भन्दै चलचित्र कलाकार संघ, एपीवान बोर्ड लगायतमा उजुरी दिएकी थिइन् । उक्त विवादमा सुवेदीले माफी मागेपछि विवाद सकिएको थियो ।