इन्टरनेसनल एम्मी अवार्डमा सुष्मिता सेन, कमब्याक फिल्मबाटै अन्तर्राष्ट्रिय अवार्डको मनोनयन प्राप्त

मुम्बई-लामो समयपछि पर्दामा कमब्याक गरेकी सुष्मिता सेनले कमब्याक फिल्मबाटै अन्तर्राष्ट्रिय अवार्डको मनोनयन प्राप्त गरेकी छिन् । फिल्मबाट टाढिएर लामो समय चुपचाप बसेकी सुष्मिताले गत साल ओटिटीमा ‘आर्या’मार्फत डेब्यु गरेकी थिइन् । दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यो सिरिजबाट सुष्मिता सेनले इन्टरनेसनल एम्मीको बिहीबार सार्वजनिक मनोनयनमा पनि ठाउँ बनाएकी छिन् । सुष्मिता अभिनीत यो सिरिजले उत्कृष्ट ड्रामा सिरिजमा मनोनयनमा ठाउँ बनाएको हो ।

बिहीबार सार्वजनिक मनोनयनमा सुष्मिताबाहेक थप दुई भारतीयले पनि ठाउँ बनाएका छन् । यसरी एम्मीमा ठाउँ बनाउनेमा नवाजुद्धिन सिद्धिकी र वीर दास रहेका छन् । नवाजुद्धिन सिद्धिकीले ‘सिरियस मेन’बाट उत्कृष्ट अभिनेतामा मनोनयन पाएका हुन् भने वीर दासले नेटफ्लिक्स सिरिज ‘वीर दास: फर इन्डिया’का कमेडी सेक्सनमा मनोनयन पाएका हुन् । केही दिनअघि एम्मीले अमेरिका र बेलायतका सानो पर्दामा आएका फिल्म तथा सिरिजलाई पुरस्कृत गरेको थियो । एम्मीले लगत्तै इन्टरनेसनल विधामा मनोनयन सार्वजनिक गरेको हो ।