‘राधा’ बनिन् सृष्टि

काठमाडौँ- सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । चलचित्र निर्देशक तथा निर्माता सुवर्ण थापाले सार्वजनिक गरेको फर्स्ट लुक पोस्टरमा सृष्टि फिचर्ड छिन् । उनी पोस्टरमा गम्भीर मुद्रामा देखिएकी छन् ।

दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायाङ्कन भएको चलचित्रमा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतलाई समेत विशेष भूमिकामा देख्न पाइने निर्माण टीमले जनाएको छ । यो चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन र कालीप्रसाद बास्कोटाको संगीत छ ।