पहिलो पटक ‘गीत गजल शिविर’ हुने

प्रदेश १ का छ जिल्ला समेटेर सोलुखुम्बुको सल्लेरीमा ‘गीत गजल शिविर’को आयोजना हुने भएको छ ।

प्रतिस्पर्धात्मक रुपमा हुने शिविरमा सोलुखुम्बुसहित ओखलढुङ्गा, उदयपुर, खोटाङ, भोजपुर र सङ्खुवासभाका स्रष्टा सहभागी हुन पाउने छन् ।

गीतकार सङ्घ नेपालको आयोजनामा आगामी चैत्र ४ र ५ गते हुने ‘गीत गजल शिविर’मा प्रतिस्पर्धाका लागि स्रष्ट्राले चैत्र २ गतेभित्र आफ्ना गीत वा गजल इमेलमार्फत र गीतकार सङ्घ नेपालको फेसबुक म्यासेन्जरमा पठाउन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

उत्कृष्ट तीन वटा गीत गजललाई पुरस्कृत गरिनेछ । प्रथम, द्धितिय र तृतीय हुने सृजनालाई नगद १०, ८ हजार र ५ हजार रुपियाँका साथमा प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक महेन्द्र दीप राईले जानकारी दिए ।

पुरस्कृत गीत रेकर्डिङ समेत गरिने संयोजक राईको भनाइ छ । प्रतिस्पर्धामा आएका अन्य गीत गजललाई गीतकार सङ्घको मुखपत्र ‘गीतकार’मा प्रकाशन समेत गरिनेछ ।

कार्यक्रममा गीतकार राजेन्द्र थापा, शीतल कादम्बिनी लगायतको उपस्थिति रहने कार्यक्रमलाई हिमाली जिल्लामा पहिलो पटक गीतकार सष्ट्रा भेलाको रुपमा हेरिएको छ ।

गाउँघरमा लुकेका लेखकको सिर्जनालाई उजागर गर्ने धेयले ‘गीत गजल शिविर’को आयोजना गरिएको गीतकार सङ्घ नेपालका पूर्व केन्द्रीय सदस्य सुवास सङ्गम राईले बताए ।