‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ’ गीतमा रोमान्टिक पूजा र आकाश

भदौको १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को दोश्रो गीत सार्वजनिक भएको छ । ‘हराएँ हराएँ’ बोलको गीत आज युट्युबबाट सार्वजनिक गरिएको हो । ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा आनन्द अधिकारी र ताराप्रकाश लिम्बुको संगीत छ ।

रोमान्टिक यो गीतमा फिल्मका मुख्य कलाकार नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । गीतको अडियो कर्णप्रिय छ । भिडियोमा पूजा र आकाशको जोडी सुहाएको छ । कविराज गहतराजको कोरियोग्राफी भने औषत देखिएको छ ।

सौरभ लामाको छायांकन रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । अमित बस्नेत, अजित थापा, परि रानाको निर्माण रहेको फिल्ममा अर्जुन जीसीको सम्पादन छ ।

यसअघि सार्वजनिक भैसकेको यो फिल्मको ‘एउटा जरुरी कुरा छ’ले दर्शकको राम्रो साथ पाइसकेको छ ।