फिल्ममा भन्दा प्रियंकाको माग रियालिटी शोमा बढ्दै


केही बर्ष अगाडि सम्म नायिका प्रियंका कार्कीको हातमा फिल्मको चाप उच्च थियो । उनी, कुनै पनि दिन खाली बस्नुपर्दैनथ्यो । प्रियंकाका वर्षमा आधा दर्जन भन्दा बढी फिल्म रिलिज हुन्थे । फिल्ममा केमियो, आइटम डान्सदेखि मुख्य नायिकाको रुपमा प्रियंकाले काम गर्थिन् । 

तर, प्रियंकाको क्रेज कम भएपछि उनलाई लिएर फिल्म बनाउनेहरू पनि घटे । यो बर्ष प्रियंकाले अभिनय गरेको फिल्म ‘लक्का जवान, चि मुसी चि र फूलबारी’ रिलिज भयो । यीमध्ये नायिका कार्कीलाई ‘फूलबारी’ले केही हदसम्म राहत दियो । तर, यो फिल्म प्रियंकाकै कारण चलेको भने होइन । 

प्रियंकाको हातमा फिल्म भन्दा रियालिटी शो बढिरहेको छ । उनको माग निर्णायक को रुपमा बढेको देख्न सकिन्छ । प्रियंका ‘मेरो डान्स यूनिभर्स’को निर्णायक हुन् । यो शोको अडिसनका लागि उनी विभिन्न देश पुगेर फर्किसकेकी छिन् । 

अब, उनै कार्कीलाई दर्शकले ‘हिमालय रोडिज’को नयाँ सिजनमा देख्न पाउने भएका छन् । यो शोकी निर्णायक दिया मास्के यो सिजनमा नहुने संभावना बढी छ । यसैले, प्रियंका शोको निर्णायक को रुपमा भित्रिएकी हुन् । 

बलिउडमा पनि नायिकाहरूको क्रेज फिल्ममा कम हुँदै गएपछि रियालिटी शोमा व्यस्त हुन्छन् । प्रियंका पनि सोही लयमा देखिएकी छिन् ।