महंगो पारिश्रमिक र रेनशाको निर्णय धिरजका लागि फाइदा कि घाटा ?


नायक धिरज मगरले आफ्नो करिअरमा ४ वटा फिल्ममा मात्र काम गरेका छन् । जसमा उनको डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ हिट भयो । उनको मुख्य भूमिका रहेको फिल्म ‘भवगत् गीता’ भदौ २९ गते  रिलिज हुँदैछ । उनले अभिनय गरेको ‘बाबरी र ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भैसकेका छन् । तर, दुबै फिल्मको कमजोर बक्स अफिसले धिरजलाई धक्का लागेको छ । 

तर, दुइवटा फिल्म असफल हुँदा पनि धिरज मगरले करिअरको बारेमा गम्भिर भएर सोच्न नसकेको फिल्मीकर्मी नै बताउँछन् । धिरजले फिल्म ‘भगवत् गीता’का लागि सुरुवातमा ४० लाख पारिश्रमिक माग्दा यसको निर्माणपक्ष उनीसँग विच्किएको थियो । तर, पछि पारिश्रमिकमा सहमती भएपछि धिरजले काम गरे । 

२ वटा फिल्म असफल भएपछि पनि धिरजले आफ्नो पारिश्रमिक २० देखि २५ लाखको वरिपरी नै भन्ने गरेका छन् । जसकाकारण, उनलाई फिल्ममा लिनका लागि निर्माताहरुले पनि सोच्नु पर्ने अवस्था छ । अर्कोतिर, धिरजले निर्देशक रेनशा वान्तवा राइको निर्णयलाई नै अन्तिम मान्छन् । 

फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ असफल भएपछि पनि धिरजले रेनशाको निर्णयलाई नै फलो गर्दै आएका छन् । श्रोतका अनुसार, हालै मात्र एक सफल निर्देशकले उनलाई फिल्मको लागि अफर गरेका थिए । तर, उनले रेनशालाई सोध्नुपर्ने भन्दै निर्णय दिन सकेनन् । अन्तिममा उनको पारिश्रमिक नै फिल्मका लागि वाधक बन्यो । अहिले ती निर्देशक अर्का नायककोमा पुगेका छन् । 

धिरजलाई लिएर फिल्म बनाउन केही निर्माता नकस्सिएका होइनन् । तर, धिरजको महंगो पारिश्रमिक र रेनशाको निर्णय नै अन्तिम हुने भएकाले उनीसँग सहकार्य गर्न सहज नभएको निर्माताहरु बताउँछन् ।