शिल्पा भन्छिन्–‘कलाकारले हरेक दृश्य शत प्रतिशत दिनुपर्छ’


नायिका शिल्पा मास्के असारको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परस्त्री’बाट निकै आशावादी छिन् । यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्नेमा उनी ढुक्क पनि छिन् । 

फिल्म भित्र शिल्पाले बोल्ड दृश्य दिएकी छिन् । उनी भन्छिन्–‘कलाकार भैसकेपछि हरेक दृश्यलाई शत प्रतिशत दिनुपर्छ । फिल्मको सेटमा गैसकेपछि हामी कलाकारको रुपमा रहन्छौं ।’

शिल्पाले यो फिल्ममा काम नगरेको भए आफूलाई पछुतो हुने समेत तर्क गरेकी छिन् । उनले भनिन्–‘म हरेक किसिमका भूमिकामा काम गर्न चाहन्छु । यसैले, परस्त्रीमा मैले पाएको भूमिकामा काम गर्न पाउँदा खुशी छु । यदि मैले यो फिल्म नगरेको भए एउटा राम्रो फिल्म छुट्यो भनेर मलाई पछुतो हुने थियो ।’

फिल्म भित्र थुप्रै अन्तरंग दृश्यहरु समावेश गरिएको छ । शिल्पा यसका लागि आफूहरु पहिले नै तयार भएको बताउँछिन् । 

फिल्मको छायांकनका क्रममा पहिले नै सल्लाहा गरेको भन्दै निर्देशक सुरज पाण्डेले कुनै असहजविना नै फिल्म खिचेको उनको भनाई छ । 

शिल्पाले यो फिल्म चलेपछि फिल्म क्षेत्रमा आफूलाई वुझ्ने नजर फरक हुने समेत बताइन् । भनिन्–‘म हेर्दा सोझी देखिन्छु । म कोही पनि व्यक्तिसँग नजिक हुन समय लाग्छ । यसैले, यो फिल्मको ट्रेलर आउँदा धेरै जना छक्क पर्नु भएको थियो ।’

शिल्पाले फिल्म क्षेत्रमा आफू विस्तारै अगाडि बढिरहेको भन्दै धेरै कुरा सिक्न बाँकी रहेको समेत बताइन् । असारको १५ गतेबाट रिलिज हुने यो फिल्ममा शिल्पालाई परस्त्रीको भूमिकामा देखाइएको छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा दीपेन्द्र के खनालको लेखन छ ।