खडेरीको मारमा चकलेटी हिरोहरु

कुनै समय एकपछि अर्को फिल्ममा व्यस्त नेपाली चकलेटी हिरोहरु अहिले कामको खोजीमा छन् । भलै केहीले फिल्मका लागि सम्झौता गरे पनि ती फिल्म सुटिङमा जान सकेका छैनन् । केहीले भने ‘कफी कुराकानी’मा मौखिक सहमति गरे पनि त्यसको सम्झौता नहुँदा उनीहरु फिल्म गर्ने वा नगर्ने अन्यौलमा छन् ।

पछिल्लो फिल्म ‘छड्के २’ रिलिज पछि अभिनेता अनमोल केसी गुमनाम झैं छन् । भलै उनले अभिनय गर्ने केही फिल्मको नाम अगाडि आए पनि फिल्म फ्लोरमा जान सकेका छैनन् । 

अनमोलले ‘जेरी २’मा अभिनय गर्ने सञ्चारमाध्यममा समाचार आए पनि यो फिल्म अझैसम्म सुटिङमा जान सकेको छैन । बरु नयाँ कुरा यो फिल्मको नाम फेरेर निर्माण पक्षले ‘जेरी अन टप’ राखे ।

यो फिल्म फ्लोरमा नगएपछि अनमोलले ‘फर्की फर्की’मा अभिनय गर्ने कुरा बाहिरियो । फिल्मको नाम ‘फर्की फर्की’ भए पनि अनमोलले फिल्मका लागि ‘पर्खी पर्खी’ गर्न सक्छन् या सक्दैनन् भन्ने अझै टुंगो लागेको छैन ।

चकलेटी लुक्सका हिरो भन्दा अनमोलपछि आउने नाम प्रदीप खड्का नै हुन् । प्रेमकथाभन्दा केही फरक जनराका फिल्ममा अभिनय गरे पनि उनलाई दर्शकले प्रेमकथाका फिल्ममा नै बढी रुचाउँछन् । फिल्म ‘प्रेमगीत ३’ पछि प्रदीप खाली छन् । भलै उनका हातमा केही फिल्मका कुरा आए पनि ‘कामिनो’मा उनी फाइनल भइसकेका छन् । यो फिल्मको सुटिङ अझैसम्म सुरु हुन सकेको छैन । तर केही समययता फिल्मी बजारमा ‘कामिनो’ र प्रदीप पयार्य बनिरहेका छन् ।

त्यसो त प्रदीपले मिलन चाम्स, समुन्द्र भट्ट र दिनेश राउतसँग सहकार्य गर्ने चर्चा चले पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अभिनेता आकाश श्रेष्ठको अवस्था उस्तै भन्दा पनि धेरै शुन्यको फरक छ । किनकी उनको हातमा फिल्म नै छैन भन्दा फरक नपर्ला । पछिल्लोपटक फिल्म ‘सम्हालिन्छ कहिले मन’मा देखिएका यी अभिनेताको अर्को फिल्म ‘बगान’ यही असार २९ मा रिलिज हुँदैछ । यो फिल्ममा उनी छोटो भूमिकामा छन् । केही समयअघिको एक भेटमा यो फिल्मका एक प्राविधिकले ‘बगानमा आकाशले अभिनय गरेको गीत र दृश्य जोडिँदा मात्र उसको भागमा नौ सिन पर्छ’ भन्दै ठट्टा नै गरे । 

मेरोफिल्मले आकाशसँग सम्पर्क गर्दा दुई फिल्मको स्क्रिप्टको काम भइरहेको बताए । आकाशकै भनाईलाई आधार मान्ने हो भने स्क्रिप्ट चरणमा रहेका दुई फिल्मले उनलाई नै अभिनेतामा लिन्छन् या लिँदैनन्, त्यो पनि अन्योल नै छ । किनकी नेपाली फिल्ममा सुरुवातमा एउटा अभिनेतासँग कुरा गर्ने र स्क्रिप्ट लक भएपछि अर्को अभिनेतालाई अनुबन्ध गर्ने चलन पुरानै हो । पछिल्लो समय केही म्यूजिक भिडियोमा देखिएका आकाश भिडियोमा पनि देखिन छोड्ने हो भने दर्शकले ‘कुनै बेला आकाश श्रेष्ठ पनि हिरो थिए’ नभन्लान् भन्न सकिँदैन ।

अब कुरा गरौं पुष्प खड्काको । पुष्पलाई त अहिले म्यूजिक भिडियोले नै धानेको छ । हरेक दिन उनले अभिनय गरेको कुनै न कुनै भिडियो सार्वजनिक भइरहन्छन् । २०७९ मा उनका तीन फिल्म ‘कृष्ण लिला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ रिलिज भए । तर यी फिल्म फ्लप भए । यी फिल्मले न त पुष्पको करियरमा नयाँ इँटा थप्यो, न त निर्माताको झोलीमा पैसा नै ।

पुष्पको हातमा अहिले दुई फिल्म ‘एक्स ९’ र ‘चोर पुलिसः टम एण्ड जेरी’ छन् । यी दुवै फिल्ममा मुकुन्द भट्टको निर्देशन रहनेछ । उनको निर्देशन रहने भनिए पनि फिल्म फ्लोरमा नजाँदा उनले निर्देशन कला देखाउनै पाएका छैनन् । ‘एक्स ९’ नै बनाउन उनलाई सकस परिरहँदा अर्को फिल्म बनाउँछन् भन्ने विश्वास झट्ट गर्ने अवस्था छैन ।

अभिनेता धिरज मगर पछिल्लोपटक ‘ज्याकीः आइ एम २१’मा देखिए । यो फिल्मले यसअघिको उनको फिल्म ‘बाबरी’लाई मात खुवाउँछ कि भन्ने आँकलन फिल्म वृत्तमा थियो । तर फिल्मले आफैं मात खाएपछि धिरजको अवस्था पनि फिल्मकै जस्तो रह्यो । उनले यी फिल्मभन्दा अघि नै झरना थापाको ‘भगवत गीता’मा अनुबन्धित नभएका भए अहिले उनी खाली हुन्थे । यो फिल्मपछि उनले के गर्ने हुन् भन्ने हल्लाखल्ला केही छैन ।

अब लागौं पल शाहतिर । पछिल्लो पटक रिलिज उनको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज भइरहँदा पल तनहुँको दमौलीस्थित प्रहरीको हिरासतमा थिए । झण्डै एक वर्षसम्म कारागार बस्दा उनले कारागारभित्रै फिल्मको स्क्रिप्ट पढिरहेको भनेर हल्ला फिजाइयो । तर उनी जब बाहिर आए, न त स्क्रिप्टको कुरा निस्कियो न त फिल्मकै । मोडल कविता रायले पललाई नै अभिनय गराउने भनेर एक फिल्म विकास बोर्डमा दर्ता गराएका थिइन् । तर अहिलेसम्म त्यो फिल्मको चाइँचुई केही छैन । यता पल भने केही निर्देशकलाई मेरो फिल्मको निर्देशन गरिदिनु न भन्दै ढोका ढोका धाइरहेको समाचार बाहिरिएको थियो । यो बीचमा उनले निर्देशक दिनेश राउतको एक फिल्ममा अभिनय गर्ने चर्चा चले पनि यो विषयको आधिकारिक जानकारी सम्बन्धित पक्षले हालसम्म दिएको छैन ।

चकलेटीको अर्थ हो, मिठास । जुन खाँदा स्वादिलो हुन्छ । तर हाम्रा चकलेटी हिरोहरुले भने आफूले प्रतिबद्धता गरेका फिल्महरु फ्लोरमा नगइदिँदा त्यो मिठास चाख्न पाएका छैनन् । उनीहरुलाई अहिले एउटै डर छ, कतै त्यो मिठासको स्वाद बिग्रिने त होइन ।