सौगातपछि ‘पञ्चामृत’मा धिरज फाइनल


फिल्म ‘नाई नभन्नु ल ३’का निर्देशक मुस्कान ढकालले नयाँ फिल्म ‘पञ्चामृत’ बनाउने तयारी गरिरहेका छन् । यो फिल्मका लागि मुस्कानले केही बर्षदेखि स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मलाई २ सिरिजमा बनाउने तयारी उनको छ । 

मुस्कानले हाल फिल्मका कलाकारहरु फाइनल गरिरहेका छन् । केही समय अगाडि नै उनले फिल्ममा नायक सौगात मल्ललाई फाइनल गरेका हुन् । यो फिल्ममा सौगातसँगै नायक उत्तम प्रधान, दुई नायिका निरुता सिंह र विपना थापा फाइनल भैसकेका छन् । 

भदौबाट छायांकन सुरु हुने फिल्मलाई अत्यात्मिक लभ स्टोरी कथामा बनाउने तयारी मुस्कानको छ । यसैबिच, यो फिल्मका लागि नायक धिरज मगर पनि फाइनल भएका छन् । मेरो फिल्मलाई श्रोतले दिएको जानकारी अनुसार, यो फिल्मका लागि निर्माणपक्ष र धिरजविच संझौता भएको छ । धिरजले पनि फिल्म साइन गर्नका लागि केही समय लगाएका थिए । 

फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’पछि धिरजले नयाँ फिल्म साइन गरेका थिएनन् । मुस्कानले धिरजलाई २ महिना अगाडि नै फिल्मका लागि अफर गरेका थिए । तर, धिरजले केही हप्ता लगाएर फिल्म साइन गरेका छन् । 

फिल्मका लागि अब अर्की एक नायिकालाई फाइनल गर्ने तयारीमा मुस्कान छन् । मुस्कान फिल्मको सबै लाइनअप सकिएपछि मात्र यसको औपचारिक घोषणा गर्ने तयारीमा छन् । सौगात र धिरजलाई एकसाथ पर्दामा हेर्दा दर्शकमा उत्सकुता बढ्ने पक्का छ ।