कहाँ चुकिरहेका छन् धिरज मगर ?

नायक धिरज मगर नेपाली फिल्मका आशा गरिएका नायक हुन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरिसकेपछि त धिरज मगरलाई नेपाली फिल्मको नयाँ स्टारको रुपमा पनि परिभाषित गरिएको थियो । 

तर, उनले आम फिल्म क्षेत्रले गरेको आशा अनुसार नतिजा दिन सकिरहेका छैनन् । धिरज मगर अभिनीत २ फिल्म ‘बाबरी र ज्याकीः आई एम ट्वान्टी वान’ले बक्स अफिसमा गतिलो व्यापार गरेनन् । यी दुबै फिल्मका निर्मातालाई धिरजको स्टारडम माथि ठूलो विश्वास थियो । इनिसियल रुपमा धिरजले दर्शक तान्ने अपेक्षा उनीहरूमा थियो । तर, उनीहरुले सोचे अनुसार भएन । धिरजले नै अभिनय गरेको फिल्म 'एक भगवत् र एक गीता (सामाजिक कथा)' इनिसियल रुपमा चलेन । फिल्मले रिलिजको पाँचौ दिनपछि विस्तारै दर्शक तानिरहेको छ । 

यसरी हेर्दा, धिरज फिल्म क्षेत्रमा चुकिरहेको देखिन्छ । यसको पछाडि, कारण के होला ? धिरज मगरलाई धेरैले निर्देशक रेनशा वान्तवा राईको क्याम्पबाट बाहिर निस्कन नसकेको आरोप लगाउँछन् । धिरजलाई फिल्म साइन गराउँदा पनि रेनशा नै हाबी हुने गरेको फिल्मीकर्मीहरु बताउँछन् । यसैले, अब धिरजले फिल्म साइन गर्दा आफ्नो मनले रोज्नु आवश्यक छ । यसले, उनलाई फिल्म क्षेत्रमा स्वतन्त्र बनाउँछ । जसका कारण, उनलाई काम गराउन आम फिल्मीकर्मीलाई सहज हुन्छ । 

धिरज मगरले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेपछि नयाँ फिल्ममा काम गर्न समय लगाए । धिरजले धेरै समय ग्याप लिँदा उनका फ्यानहरु उनीसँग भड्किएको देखिन्छ । पहिलो फिल्ममा काम गर्दा युवतीहरूको क्रेज निकै बटुलेका धिरज त्यसपछि हराए । यसरी हराउँदा, धिरजका फ्यानहरु पनि हराएको देखिन्छ । 

धिरज मगरलाई फिल्म क्षेत्रमा लभ स्टोरी फिल्मका नायकको रुपमा चिनिन्छ । यसैले, उनले केही बर्ष अझै सानदार लभ स्टोरी कथामा काम गर्न आवश्यक छ । यसो गरेको खण्डमा, धिरजमाथि दर्शकको विश्वास फेरि बढ्न सक्छ । तर, नेपाली फिल्मको कथा भन्ने शैली नै फेरिएको वर्तमान परिप्रेक्षमा चकलेटी नायकहरू समस्यामा छन् । जसको असर, धिरजको करिअरमा पनि परिरहेको छ ।

यो पनि पढ्नुहोस्

असन्तुष्ट धिरजको देखावटी खुशी !

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज