प्रदीपको स्टाटसः जसले महिलाप्रति असंवेदनशीलता दर्साउँछ

नायक प्रदीप खड्काले अर्का नायक अनमोल केसीप्रति कटाक्ष गर्दै लेखेको एउटा स्टाटस उनीमाथि नै भारी पर्ने देखिएको छ । प्रदीपले अनमोलको नाम उल्लेख नगरी बिहे गरिसकेकी महिलालाई बुढाले छाड्दा उसमा आत्मविश्वास हराउने लेखेका छन् । यति मात्र होइन, प्रदीपले दुलहीलाई खोट लगाएर लेखेपछि उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि सक्छ भनेर लेखेका छन् ।

यहाँ, प्रदीप बिहे गरेर डिभोर्स गर्ने बित्तिकै महिलामा आत्मविश्वास हराउने र महिलाको सबैभन्दा ठुलो कुरा नै उसको कुमारीत्व हो भनेर स्थापित गर्न खोजिरहेका छन् ।

अनमोलप्रति कटाक्ष गर्दा प्रदीपले सोझै पनि लेख्न सक्थे । तर, उनले महिलाहरूलाई नै होच्याएर आफ्नो कटाक्ष अन्ततिर पोख्न खोजेको देखिन्छ । रंग पत्रकार पुष्प थपलियाले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘यो कस्तो अभिव्यक्ति हो प्रदीप खड्का । महिलाको बारेमा उदाहरण दिँदा तपाई जत्तिको मान्छे संवेदनशील बन्नु पर्छ कि पर्दैन ? बुढाले छाडेकी भनेर दाग लगाएसी उसमा आत्मविश्वास नहोला रे, अर्को बिहेका लागि ? तपाइको इगो अन्तै पोख्नुहोस् । आफ्नो करिअर र प्रोफेसनको स्वार्थ पूरा गर्न महिला र उसको कुमारीत्व सर्वस्व हो भन्ने भाष्यलाई बढावा नदिनुहोस् ।’

प्रदीपको स्टाटस महिलाहरूप्रति निकै असंवेदनशील देखिन्छ । उनको स्टाटसमा प्रतिक्रिया दिने अधिकांशले उनी जस्तो स्टार नायकबाट यस्तो स्टाटसको अपेक्षा नगरेको उल्लेख गरेका छन् ।