फिल्म क्षेत्रमा प्रदीप खड्काः नायक कम, राजनीतिज्ञ ज्यादा

नेपाली फिल्म क्षेत्रका स्टार नायक हुन् प्रदीप खड्का । अष्ट्रेलिया जान झोला बोकिसकेका प्रदीपलाई निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाले ‘प्रेमगीत’ मार्फत स्टार बनाए । यसपछि, भने उनले पछि फर्किएर हेर्नु परेको छैन । 

तर, फिल्म क्षेत्रबाट पाएको नाम र स्टारडमलाई प्रदीपले सदुपयोग गर्न नसकेको टिप्पणी समेत फिल्मी बजारमा हुने गरेको छ । 

केही समय अगाडि नायिका मिरुना मगरले करिअरको सुरुवाती चरणमा आफूलाई एउटा फिल्मबाट नाम चलेका नायकले निकाल्न खोजेको खुलासा गरेकी थिइन् । धेरैले, मिरुनामाथि खेल प्रदीपले खेलेको भनेर बुझेका थिए । 

प्रदीपले फिल्म ‘प्रेमगीत ३’मा काम गरेपछि ‘कामिनो र एक्स ९’ फिल्म साइन गरेका छन् । तर, यी दुबै फिल्मको छायांकन सुरु हुन सकेको छैन । ‘कामिनो’मा पनि प्रदीपले नायक भन्दा अगाडि सरेर कलाकार परिवर्तनदेखि धेरै कुरामा हस्तक्षेप गर्ने गरेको चर्चा फिल्म वृत्तमा सुनिन्छ । उसो त, यो प्रदीपको नयाँ शैली होइन । प्रदीप फिल्ममा नायकको रुपमा प्रवेश गरे पनि धेरै हदसम्म निर्माता, निर्देशकदेखि स्क्रिप्ट लेखक समेत बन्ने गरेको गुनासो फिल्मीकर्मीले नै सुनाउँदै आएका छन् । 

फिल्म ‘प्रेमगीत ३’ रिलिजको समयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको काँधमा बन्दुक राखेर अनमोल केसीतिर निशाना सोझ्याउन प्रदीप लागिपरेको देखियो । यतिमात्र होइन, प्रदीपले फिल्म ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्ड नदिएपछि विकास बोर्डप्रति देखाएको आक्रोश पनि फिल्मीकर्मी र दर्शकमाझ ताजै छ । 

आजको दिनमा प्रदीप जस्ता स्टारको हातमा फिल्मको लाइन लाग्नुपर्ने हो । उनी, एकपछि अर्को फिल्ममा व्यस्त हुनुपर्ने हो । तर, विगत एक बर्षदेखि उनले नयाँ फिल्मको छायांकन सुरु नै गर्न सकेका छैनन् । कलाकार भैसकेपछि आफ्नो कलामा नै बढी ध्यान दिने हो भने यस्तो समस्या नआउन सक्छ । तर, प्रदीप नायक भन्दा बढी चतुर खेलाडीको रुपमा फिल्म क्षेत्रमा अगाडि बढेको टिप्पणी धेरैको छ । 

उसो त, प्रदीप एउटा फिल्मलाई उत्कृष्ट बनाउनका लागि सबैले हरेक विधामा हातेमालो गर्नुपर्ने तर्क राख्छन् । तर, आफूलाई चित्त नबुझेको खण्डमा प्रदीपले टिम भित्र नै ठूलै खेल खेल्ने गरेको चर्चा लामो समयदेखि सुनिँदै आएको छ । 

नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि उत्पन्न भएको परिस्थितीमा प्रदीपले अनावश्यक रुपमा खेल खेल्न खोजे । अनमोलमाथि तिखो रुपमा प्रस्तुत हुँदै सामाजिक संजालमा स्टाटस कोरेका प्रदीप अन्ततः आलोचित भए र स्टाटस हटाउन वाध्य भए । प्रदीपलाई कुन कुरामा बोल्ने र कुन कुरामा नबोल्ने भन्ने विषयमा समेत ज्ञान नभएको र हरेक विषयमा उनी अगाडि बढ्न खोजेको आरोप लाग्दै आएको छ । 

नेपाली फिल्म क्षेत्रमा नायकहरूको चरम अभाव छ । एउटै नायकले वर्षमा दर्जन बढी फिल्म खेलेर यो क्षेत्रलाई अगाडि बढाउनुपर्ने अवस्था आएको छ । तर, प्रदीप जस्ता अभिनय र लुक्समा दर्शकले रुचाइएका नायकहरू भने काम गर्न भन्दा बढी फिल्म वृत्तमा राजनीति गर्न केन्द्रित छन् । जसले, यी स्टारहरूको फिल्म हेर्न लामो समय पर्खिनु त परेको छ नै, अर्कोतिर निर्माता पनि फिल्म बनाउने विषयमा कलाकारको कुराले सधै टाउको दुखाउनुपर्ने अवस्थामा पुगेका छन् । प्रदीप जस्ता नायकले फिल्म क्षेत्रलाई अगाडि बढाउनका लागि उत्कृष्ट फिल्म खेल्दै योगदान दिन आवश्यक छ । तर, प्रदीप आफ्नो वास्तविक काम भन्दा अन्तै अलमलिएका हुन् कि भन्ने भान धेरैलाई भएको छ ।