डेब्यू हिन्दी फिल्म ‘ऐरी’मा शिकारी बन्दै प्रदीप खड्का

नेपाली फिल्म क्षेत्रका चकलेटी नायक प्रदीप खड्काले हिन्दी फिल्ममा डेब्यू गर्ने भएका छन् । उनले अभिनय गर्न लागेको हिन्दी फिल्म ‘ऐरी’को मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । यो फिल्मको तयारीका लागि प्रदीप केही समयदेखि भारतमा छन् ।

यो फिल्ममा प्रदीपलाई सिकारीको रुपमा देखाइनेछ । फिल्ममा सुभाष काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता कमल बहादुर आले हुन् ।

फिल्मलाई जीवन थापाले निर्देशन गर्ने पक्का भएको छ । यो फिल्मलाई सन् २०२४ मा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मलाई हिन्दी भाषाको साथमा भारतका अन्य विभिन्न भाषामा तयार पारिनेछ । 

फिल्म ‘प्रेमगीत ३’लाई भारतमा सुभाष कालेको टिमले वितरण गरेको थियो । यसपछि, प्रदीपको सम्बन्ध उनीहरूसँग जोडिएको हो । 

प्रदीपले दिनेश राउतको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पूजार सार्की’मा पनि काम गर्ने पक्का भइसकेको छ । यो फिल्ममा उनी नायक आर्यन सिग्देलसँग पर्दा शेयर गर्दैछन् ।