विधु विनोद चोपडासँग नजिक देखिएका प्रदीप ‘१२ वि फेल’को सक्सेस पार्टीमा पुगे

हिन्दी फिल्म ‘ऐरी’मा काम गर्न लागेका नायक प्रदीप खड्का यति बेला मुम्बईमा छन् । मुम्बईमा रहेर आफ्नो डेब्यू फिल्मको तयारीमा लागेका प्रदीप बलिउडका नाम चलेका मेकरसँग पनि नजिक देखिएका छन् । 

बक्स अफिसमा धुम मच्चाएको फिल्म ‘१२ वि फेल’को सक्सेस पार्टीमा प्रदीप पुगेका छन् । बुधबार बेलुकी आयोजना भएको पार्टीमा पुगेका प्रदीप यो फिल्मका निर्देशक विधु विनोद चोपडासँग नजिक देखिएका छन् । 

मेरो फिल्मलाई प्राप्त भएको भिडियोमा प्रदीप विधु विनोदसँग हात मिलाउँदै मुस्कुराइरहेका छन् । उनीहरुबिच केही समय कुराकानी समेत भएको थियो । 

प्रदीप रात भर पार्टीमा नै रमाएका थिए । उनीसँगै फिल्मका निर्माता सुभाष काले पनि पार्टीमा पुगेका थिए । 

प्रदीपले हिन्दी फिल्ममा डेब्यू गर्ने तयारी गर्दै गर्दा उनी बलिउडका नाम चलेका मेकरसँग नजिक हुनुले उनको आगामी सोचलाई बताउँछ । उनी, बलिउडमा आफ्नो करिअर बनाउन लागिपरेको प्रष्ट छ । 

प्रदीपले दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पूजार सार्की’मा पनि काम गर्ने पक्का भएको छ ।