फिल्मका मात्रै होइनन्, म्यूजिक भिडियोका कलाकार पनि कम महँगा छैनन्

केही दिन यता सामाजिक सञ्जाल होस् तथा संचारमाध्यमहरुमा म्युजिक भिडियो बन्न कम भए, बन्नै छाडे भन्ने प्रकारका चर्चा भइरहेको छ ।

ती चर्चाहरुमाथि विश्वास गर्ने हो भने वर्तमान समयमा म्यूजिक भिडियो निर्माणको दरमा ८० प्रतिशतसम्मको कमी आएको छ। यध्यपी यसको आँकडा फिल्मजस्तो ठ्याक्क तथ्याङ्कमा आधारित नभइ अनुमानित हो। किनकी नेपालमा म्यूजिक भिडियो आधिकारिक रुपमा दर्ता गरेर निर्माण गर्नुपर्दैन ।

तीज अगाडि सम्म दिनहुँ उल्लेख्य संख्यामा म्युजिक भिडियो रिलिज हुने गरेका थिए भने कलाकारहरूको समय लिन केही समय कुर्नुपर्ने अवस्था थियो। अहिले त्यस्तो छैन। 

सामाजिक सञ्जाल कलाकार आफैंले काम गरेका भिडियो कतिले सेयर गरेर पनि नभ्याउने अवस्था देखिन्थ्यो । एउटै कलाकारका हप्तामा ४ देखि ५ वटासम्म म्यूजिक भिडियो सार्वजनिक भएको जानकारी पोस्टमार्फत दिने गर्थे। हाल त्यसमा गिरावट आएको छ। 

भिडियो खेल्ने मात्र होइन गीत गाउने कलाकारलाई पनि भ्याइ नभ्याइ हुने गर्थ्यो भने रेकर्डिङ स्टुडियोमा पनि गतिलै चापाचाप हुने गरेको थियो।

तर, हिजो-आज एकाधमात्रै नयाँ म्युजिक भिडियोहरू सार्वजनिक हुन्छन् भने व्यस्त देखिने रेकर्डिङ स्टुडियो र उपकरण कम्पनीमा उस्तो चहलपहल छैन। 

यस्तो अवस्था आउनुमा म्यूजिक भिडियोमा गरिने लगानीबाट प्रतिफल फिर्ता नहुने त एकतीर छँदैछ अर्कोतीर चर्चित कलाकारहरूको पारिश्रमिकको चर्को आँकडाले यसमा गिरावट आइरहेको हो। 

हामीकहाँ केही हजारमा म्यूजिक भिडियो खेल्ने देखि दुई लाखसम्म पारिश्रमिक लिने कलाकार छन्। म्यूजिक भिडियो निर्माणको बजेट केही लाखबाट कुनै कुनै अवस्थामा त ३० लाखसम्म पुगिसकेको छ।

भिडियोको आम्दानीको मुख्य स्रोत युट्युबबाट आउने ‘रेभिन्यू’ हो जसमा पछिल्लो समय एकदमै थोरैमात्र कमाइ हुने गरेको छ। यस्तो खर्च नगरे गुणस्तरिय म्यूजिक भिडियो नबन्ने,खर्च गरे लगानी उठ्ने अवस्था छैन। यसले गर्दा लगानीकर्ता हच्किएका छन्। 

डिजिटल कम्पनी पनि यसमा लगानी गर्न उत्साहित भइरहेका छैनन् । योसँगै नेपालमा संगीत किनेर सुन्ने चलन लगभग शून्यप्राय छ। त्यसले गर्दा आम्दानीको एउटै साहारा युटुयूब प्लेटफर्म सुक्दै गएकाले म्यूजिक भिडियो निर्माणमा कमी आइरहेको हो।

विशेषगरि, कलाकारहरूले महँगो पारिश्रमिक लिनु, मेकिङमा उच्च खर्च हुनु तर लगानी फिर्ता हुने संभावना ज्यादै न्यून हुनुले पनि भिडियो निर्माणमा कमी आएको हो । 

म्युजिक भिडियोमा नाम चलेका कलाकारहरूको पारिश्रमिक आकासिएको छ । नायकद्धय आकाश श्रेष्ठ र पुष्प खड्काले एउटा भिडियोमा काम गरे बापत ८० देखि १ लाखसम्म लिँदै आएको बुझिएको छ । 

यस्तै, भिडियोमा नै चलेका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ८० हजार, उषा उप्रेतिले ६० हजार र गरिमा शर्माले ५० हजार लिँदै आएको बुझिएको छ । लोकगीतको भिडियोमा राम्रो क्रेज बनाएकी मोडल अन्जली अधिकारीले २५ हजार पारिश्रमिक लिँदै आएकी छिन् । 

नायिका मलिका महतले त कुनै समय १ लाख २० हजारसम्म माग गरेकी थिइन् । हाल पनि उनी १ लाख कममा भिडियो नै खेल्दिनन् । जसकाकारण, मेकरलाई भिडियोमा लगानी गर्न नै महँगो परेको देखिन्छ ।

तर, मेकरले युट्युबबाट कलाकारलाई दिएको पारिश्रमिक समेत उठाउन नसकेको अवस्थामा भिडियोमा लगानी गरेर खासै फाइदा देखेनन् । यसकारण, अहिले भिडियो निर्माणमा ८० प्रतिशत कमी आएको छ ।