गीतसंगीतमा सिक्वेलको बाढी, तर सबै हिट हुन्छन् भन्ने छैन

फिल्म ‘अन्दाज’मा समावेश ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ आजको दिनमा पनि उत्तिकै चर्चामा छ । गीतकार शंकर अधिकारी ‘घायल’ आज पनि आफ्नो परिचय यही गीतमार्फत दिन्छन् ।

उनै, अधिकारीलाई यो गीतको सिक्वेल निकाल्ने लोभ लाग्यो । उनले, राजन श्रेष्ठ र नित्याशिवाको स्वरमा ‘सिम्पल सिम्पल कान्छी २’ बोलको गीत लेखे । आफ्ना नजिकका संगीतकार बाबुल गिरीलाई उनले संगीत भर्न दिए । तर, यो गीतको अडियो निकै कमजोर छ । जसकाकारण, गीत सार्वजनिक भएपछि कुनै चर्चा बजारमा छैन । 

गीतको भ्यूज ३ दिनमा साढे ४ लाख छ । भ्यूज पनि कमजोर रहेको यो गीतको अडियोले दर्शकको मन छुँदैन । गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियो राम्रो बनाएका छन् । दीपाश्री निरौला र किरण केसीलाई  उनले नचाएर नयाँ कन्सेप्ट दिएका छन् । तर, अडियो कमजोर भएपछि भिडियोले मात्र दर्शकको ध्यान खिच्न सक्दैन । 

यस्तै, ४ दिन अगाडि ‘यही त हो माया’ बोलको गीत सार्वजनिक भयो । गायक हिमाल सागर र गायिका अनु चौधरीले आफूहरूको हिट गीत ‘ए हो र माया’को सिक्वेलको रुपमा यो गीत सार्वजनिक गरेका हुन् । तर, यो गीतलाई भने भ्यूजको खडेरी नै लागेको छ ।

४ दिनमा २ लाख ७ हजार भ्यूज मात्र पाएको गीतको चर्चा खासै छैन । भिडियोमा मोडल गरिमा शर्मा र विमल अधिकारीले अभिनय गरेका छन् । तर, यी दुइको नृत्यले भने गीतप्रति दर्शकलाई आकर्षण गर्न सकेको छैन । 

अहिले गीतसङ्गीतमा पनि भ्यूजको खडेरी छ । दर्शकलाई गीतसङ्गीतमा केही फरक स्वाद भएन भने रुची नै नहुने देखिएको छ । गीतसङ्गीतका  सर्जकहरु भने सिक्वेलको लोभमा मिहिनेत नै नगरी गीतसंगीत बजारमा ल्याइरहेका छन् । जसलाई दर्शकले वेवास्ता गरेको देखिन्छ । 

यी दुई गीत बाहेक अन्य थुप्रै गीतसंगीत पनि सिक्वेलको लोभमा बजारमा ल्याउने गरिएको छ । तर, पहिलो सिरिज चल्दैमा दोस्रो सिरिज नामले मात्र चल्छ भन्ने हुँदैन । यसका लागि केही फरक स्वाद समावेश गर्न आवश्यक छ । जुन कुरामा गीतसंगीत बनाउनेहरूले मिहिनेत नगरेको देखिन्छ ।