केपी ओली र राजेश हमालको फिल्मी संवादः ‘साथीको हात’ डाइलगमा ओलीको यस्तो जवाफ

बिहिबारबाट सुरु भएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को दोस्रो दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नायक राजेश हमालबीच ‘सिनेमा संवाद’ विषयमा अन्तरक्रिया भएको छ । राष्ट्रिय सभा गृहमा करिब २ घन्टा चलेको संवादमा ओली र हमालले फिल्म क्षेत्रका विभिन्न आयामहरूको बारेमा कुराकानी गरे । 

संवादका क्रममा हमालले ओलीलाई आफ्नो चर्चित संवाद ‘साथीका लागि यो हात सलाम छ, दुस्मनका लागि यो हात फलाम छ’ बोल्न आग्रह गरेका थिए । हमालको आग्रहमा ओलीले भने–‘यो कुरा तपाइले मेरो तर्फबाट बोलिदिनुभएको छ । अहिले होइन पहिले पनि बोल्नु भएको थियो । आज पनि बोल्नु भएको छ । साथीका लागि सलाम ।’

ओलीले संवादका क्रममा भने–‘जीवन यथार्थ हो । समाज यथार्थ हो । कला परिकल्पना हो, कथा हो, अभिनय हो । जीवन अभिनय गरेर चल्दैन ।

फिल्ममा नखाए पनि खाएको अभिनय, प्रेम नभएपनि भएको अभिनय, घाइते नभएपनि घाइते भएको अभिनय । जिन्दगीमा त त्यो हुँदैन नी । राजनीतिमा त्यस्तै हुँदैन ।’

यही कुरामा हमालले भने–‘फिल्ममा देखाइएका कुराहरूबाट कहिले रुन पनि सक्छ, कहिले हाँस्न पनि सक्छ । विभिन्न किसिमका भावनाको उतारचढाव आउन सक्छ । यसैले, फिल्मको यो सशक्ततालाई नकार्न सकिँदैन ।’

यसपछि ओलीले भने–‘म फिल्म, कलालाई झूट भन्दै भन्दिनँ । कथा र अभिनय भन्छु । झूट भन्दा अल्ली होच्चाइयो कि । महाभारत कथा हो । तर, कथा सुन्दा मानिस आँखा चिम्लिएर भक्तिभावले सुन्छ । पण्डितजीले भनिराखेका हुन्छन् कि, तपाई भागवत कथाको यती खण्डको कथा सुन्दै हुनुहुन्छ भन्छन् । पण्डितजीले कथा सुन्दै हुनुहुन्छ भन्दा पनि हामी आँखा चिम्म गरेर प्रार्थना गर्छौ । त्यहाँ कथा भनेको सुन्दा सुन्दै पनि म बहकिए नी । कथालाई परिकल्पना भन्नुपर्छ, झूट भन्नु हुँदैन ।’

ओलीको कुरा सुनेपछि हमालले भने–‘भगवान् शिव कैलाशमा छन् भन्ने कुरा आत्मामा गड्यो भने चाहे तपाई जति सुकै विश्वास दिलाउन खोज्नुहोस्, मैले जीपीएस लगाएर हेरेँ, शिवलाई भेटिन भन्दा पनि त्यो भावना भएको व्यक्तिले मान्नेवाला छैन ।’

ओलीले हमालको कुरा सुन्दै भने–‘उसले त भन्दिन्छ, तिमी पापी थियौं, यसैले भेटेनौँ ।’

यसपछि, हमालले अगाडि भने–‘भावनाले मानेको कुरा झट्ट हटाउन सकिँदैन । बरु, बौद्धिकताले मानेको कुरा अरुले यसो होइन त्यस्तो हो भन्यो भने मान्न सकिएला । तर, भावनामा रहेको कुरा हटाउन सकिँदैन ।’