सौगात मल्लको दौडधुप र बदलिएको शैली

फिल्म चलेको केही दिन हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने कलाकारहरूको शैली अब पुरानो भइसक्यो । हलमा कलाकार लगेर मिडियाको अगाडि भिड नदेखाउने हो भने फिल्म नै चलेन छ कि क्या हो भन्ने भ्रम पर्ने अवस्था छ । यसैले, शनिबारको दिन दर्शक भरिएको हलमा कलाकार पुग्नु नौलो कुरा भएन । 

तर, यसपटक नायक सौगात मल्लको शैली भने केही फरक देखियो । फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’का लागि सौगातको दौडधूप विशेष थियो । 

उनले, फिल्मको प्रचारमा पनि राम्रो समय दिए । हलमा फिल्म लागेपछि उनी दर्शकसँग पुगेर प्रतिक्रिया लिए । यतिमात्र होइन, सौगात फिल्म चलेको दोस्रो हप्तामा मोफसल टुरमा पुगे । उनले, धरान, विराटनगर, बिर्तामोड लगायतका स्थानमा पुगेर दर्शकसँग भेटघाट गरे । मेला महोत्सवमा फिल्म चलेपछि पनि प्रचार गर्न उनी  पुगेका थिए । 

यसपटक फिल्मका निर्देशक सौरभ चौधरी र नायक सौगात मल्लले फिल्म चलेपछि पनि आफूलाई निकै व्यस्त बनाए । दर्शकबाट आएको प्रतिक्रियाले उत्साहित भएका उनीहरुले नेपाल भ्रमण गर्दै फिल्मको हाइपलाई कम हुन दिएनन् । सौगात मल्ल कम बोल्ने नायकमा पर्छन् । तर, यसपटक भने उनले यो फिल्मका लागि निकै कसरत गरे । 

तेस्रो हप्तामा पनि यो फिल्मले राम्रो व्यापार गरिरहेको छ । फिल्मको व्यापार विदेशी बजारमा पनि निकै राम्रो छ । फिल्ममा सौगात मल्लले गरेको मिहिनेतको खुलेरै तारिफ भइरहेको छ । आफूले निकै मिहिनेत गरेको प्रोजेक्टलाई सफल बनाउन सौगातले गरेको कसरत पनि तारिफ योग्य छ ।