फिल्मको सेन्सर गर्नुपर्ने नियममा मिन भामको असन्तुष्टी

‘बाँसुली, कालोपोथी र साम्बाला’ फिल्म बनाएका निर्देशक मीनबहादुर भामले आफूलाई सेन्सर हुने देशको नागरिकको रुपमा कल्पना पनि गर्न नसकेको बताएका छन् । 

काठमाडौंमा चैत्र १ गतेबाट चलिरहेको ‘निफ फिल्म फेस्टिभल’मा निर्देशक भामले नेपालमा फिल्मको सेन्सर हुने शैलीको विरोध गरेका हुन् । 

उनले भने–‘हरेक कुशल शासकले यस्तो परिबन्धलाई खुकुलो पार्दै जान्छ । शासकहरुको डिक्टेरसिप बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म सेन्सरलाई लिन्छु । जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नुपर्दा दुख त लाग्छ । तर, सर्जकको सिर्जनामाथि कैँची चलाएर शासन सत्तामा भएको मान्छेले नेपाली फिल्मको विश्व बजारीकरण गर्नुपर्छ भन्छन् ।’

उनले, आफूलाई सेन्सर नगरी फिल्म रिलिज गर्ने इच्छा भएको पनि बताए । उनले अगाडि भने–‘म त्यस्तो देशको फिल्ममेकर हुँ, जहाँ फिल्म सेन्सर हुँदैन भन्ने दिन कहिले आउला, विदेशी फोरममा ?’

मिनले कर तिरेर चुरोट, रक्सी सेवन गर्न भने पाइने तर सोही दृश्य देखाउँदा अर्को सर्त मान्नुपर्ने शैलीको पनि विरोध गरे । फिल्ममा रक्सी, चुरोट सेवन गर्दा ‘धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकार छ’ भनेर उल्लेख गर्नुपर्छ । 

निर्देशक भामले विश्वमा मौलिक फिल्मको बहस लामो समयदेखि भइरहेको भएपनि नेपालमा यो नौलो रहेको समेत बताए । उनले अगाडि भने–‘एसियामा सबैभन्दा पहिले जापानले मौलिक फिल्म बनाउन सुरु गरेको हो ।

कुरुसोवाले बनाएको फिल्म संसारभरिका दर्शकका लागि जहिले हेरे पनि बासी लाग्दैन । मौलिकताको बहस कोरिया, इरान हुँदै अहिले भियतनामपछि नेपालमा छिरेको छ ।’