‘उपहार’लाई बैंकको विज्ञापन भन्नेलाई निर्देशक देउजाको यस्तो जवाफ

फागुनको २५ गतेबाट रिलिजमा आएको फिल्म ‘उपहार’ले दोस्रो साता पनि दर्शकको साथ पाएको वितरक करण क्रेजीको भनाई छ । दोस्रो साताको शनिबार पनि हलमा दर्शकको राम्रै चाप भएपछि यसका निर्माता, निर्देशक र कलाकार हल पुगे । 

उसो त, यतिबेला सामाजिक संजाल र मिडियामा ‘उपहार’लाई बैँकको विज्ञापन गरेको आरोप लागेको छ । तर, शनिबार मिडियासँग कुराकानी गर्दै निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले यो कुरा अस्विकार गरे । उनले भने–‘फिल्म व्यापारका लागि बनाउने हो । व्यापार गर्दा फिल्मलाई सुरक्षित गर्ने विभिन्न आयामहरू हुन्छ । यस अर्थमा विभिन्न ब्रान्डहरु फिल्मसँग जोडिएका छन् । यो व्यापारको एउटा तरिका हो ।’

उनले अगाडि भने–‘मेरो फिल्मले विभिन्न ब्रान्डसँग सहकार्य गरेको छ । यतिमात्र नभएर, यो फिल्मले विदेश जानेको कथा बोलेको होला, मकै पोल्नेको व्यथा बोलेको होला, नगरपालिकाको पनि विषयवस्तु हामीले छोएका छौं ।’

निर्देशक देउजाले अरूको प्रगतिमा दुःख मनाउने प्रवृत्ति रहेको आरोप लगाए । उनले दर्शक छैनन् भन्नेहरूलाई जवाफ दिँदै भने–‘दर्शक नआई विभिन्न हलमा कसरी हाउसफुल हुन्छ । कोठा भित्र बसेर कसैले कल्पना गरेर आफ्नो टीआरपी बढाउनका लागि भन्छ भने त्यसमा मेरो आपत्ति छ । म ३५ बर्षदेखि फिल्म क्षेत्रमा लागिरहेको छु । घर खेत बेचेर दर्शक हलमा भरेर फिल्म चलाउन मलाई आउँदैन ।’

उनले, बैँकबाट दुःख पाएका पनि थुप्रै मानिस रहेको र बैँककै कारण धनी भएका मानिसहरू पनि समाजमा रहेकाले उनीहरुको कथा नै फिल्ममा देखाएको तर्क गरे । 

रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, अन्सु महर्जन, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।