‘अगस्त्य’बाट मलिकालाई कति फाइदा ?

फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ हलमा लागिरहेको छ । तेस्रो सातामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मको व्यापार पनि सुखद छ । रिलिजको दोस्रो सातामा नै कम शोजमा खुम्चिएका कारण फिल्मलाई नेपालबाटै लगानी उठाउन भने मुश्किल छ । 

यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत मुख्य भूमिकामा छन् । फिल्म रिलिज भएपछि सौगात र नाजिरको कामको तारिफ भइरहेको छ । सौगात मल्ल फिल्मको प्रमोसनका लागि देश दौडाहामा पनि पुगे । 

फिल्ममा सौगात र नाजिरलाई फाइदा भइरहँदा मलिकाको करिअरका लागि यो फिल्म कति महत्वपूर्ण रह्यो त ? यो फिल्मबाट मलिकाको चर्चा खासै भएन । 

फिल्मको ट्रेलर सार्वजनिक भएपछि मलिकाको संवादको पनि आलोचना भयो । फिल्म हेरेका अधिकांश दर्शक तथा समीक्षकबाट पनि मलिकाले सकारात्मक प्रतिक्रिया पाइनन् । 

यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा छिन् । निर्देशक सौरभ चौधरीले पनि उनलाई नै हेरेर कथा लेखेको बताएका थिए । तर, ‘पानी फोटो’ रिलिज भएको केही बर्षपछि पर्दामा देखिएकी मलिकाले आफूलाई अझै दरिलो रुपमा यो  फिल्ममा उभ्याएन सकिनन् । 

फिल्ममा डाक्टरको भूमिकामा देखिएकी मलिकासँग नायक सौगात मल्लको जोडी नसुहाएको टिप्पणी समेत भयो । 

तर, फिल्ममा उनकै भूमिकालाई सस्पेन्सको रुपमा राखिएको छ । ‘को हुन् गणेश’ भन्ने प्रश्न नै मलिकाको वरिपरी घुमेको छ । यसैले, सेकेन्ड च्याप्टरमा पनि उनी हुने पक्का जस्तै छ । 

दोस्रो च्याप्टरमा भने मलिकाले उत्कृष्ट काम गर्नुपर्ने देखिएको छ । उसो त मलिकाको अर्को फिल्म ‘सतीदेवी’ पनि रिलिजको लागि तयार छ । यो फिल्मबाट उनले कस्तो प्रतिक्रिया पाउने हुन्, हेर्न बाँकी छ ।