मुल्य नभएका प्रदीप

निर्देशक प्रदीप भट्टराईको निर्देशनमा तयार भएको पाँचौ फिल्म ‘महाजात्रा’ शुक्रबारबाट नेपालसँग विश्वका ४० बढी देशमा रिलिज हुँदैछ । यो फिल्मको प्रचार तीव्र रुपमा चलिरहेको छ भने दर्शकले पनि यसको प्रतीक्षा व्यग्रताका साथ गरिरहेका छन् । 

निर्देशक प्रदीप भट्टराईले यसअघि चार वटा फिल्म नै हिट दिएकाले उनीमाथि दर्शकको विश्वास पनि उच्च छ । लामो समय मह संचारमा काम गरेर निर्देशक बनेका प्रदीपले महँगो पारिश्रमिक लिने गरेको खबर केही दिन अगाडि मेरो फिल्मले सार्वजनिक गरेको थियो । उनले फिल्म ‘महापुरुष’बाट नाफाको ४० प्रतिशत लिएका थिए भने ‘महाजात्रा’बाट भने ५० प्रतिशत लिएका छन् । 

तर, यो फिल्मको टिमका सदस्यहरू प्रदीप भट्टराईको कुनै मूल्य नभएको दाबी गर्छन् । प्रदीप भट्टराईले आफ्नो मूल्य आफै बनाएको निर्माता म्याक्स दीपेश खत्रीको तर्क छ । 

फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँले पनि प्रदीपको मूल्य नै नभएको बताए । उनले भने–‘प्रदीप भट्टराईले अरूले आलु आफै रोपेर, त्यसलाई मिहिनेतका साथ जोतेर, गोडमेल गर्नुहुन्छ । अनि, जब फल्छ सबैलाई बाँडेर खानुहुन्छ । सबै कुरामा आफै मिहिनेत गरेपछि त आलु पनि धेरै फल्छ । यसपछि, उहाँको भागमा पनि राम्रै आलु पर्नु त स्वभाविक नै हो ।’

निर्देशक भट्टराई पनि पैसा मात्र सबथोक नभएको बताउँछन् । विशेषगरि, उनलाई दर्शकले निकै ठूलो विश्वास गरेका छन् । यो विश्वासमा यसपटक पनि आफूले धोका नदिने प्रदीपको दाबी छ । 

२ घन्टा ४० मिनेट लामो फिल्म हेर्दा दर्शकलाई कही कतै पनि दिक्क नलाग्ने उनले बताए । फिल्मका अर्का कलाकार हरिवंश आचार्यले त प्रदीपलाई ‘महाजात्रा’को ‘महानायक’को संज्ञा दिए ।