एलिनाले विष्णुको खुट्टा ढोग्दा सामाजिक संजालमा चर्कियो बहस

गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटा हरेक दिन जसो सामाजिक संजालमा छाइरहेका छन् । यस्तो देखिन्छ कि, उनीहरू गसिप बजारसँग अभ्यस्त छन् र यसमा नै रमाइरहेका छन् । 

बिहे लगतै बाग्लुङ पुगेपछि विष्णुले विना हेल्मेट बाइक चलाउँदै एलिनालाई पछाडि राखेपछि विवाद भयो । सेलिब्रेटीका श्रीमान्ले हेल्मेट नलगाउँदा पनि हुने हो भन्दै चर्को आलोचना भएको थियो । अहिले फेरि एलिनाले विष्णुको खुट्टा ढोग्दै पैसा मागेको भिडियो भाइरल भइरहेको छ । यसमा चौतर्फी आलोचना पनि भइरहेको छ । 

एलिनाले विष्णुको खुट्टा २ मिनेट भन्दा लामो समयसम्म ढोगेकी छिन् । एलिनाले खुट्टा ढोग्दा विष्णुले पाँच, दश, बीसका नोट दिएको देखिन्छ । 

एलिनाले खुट्टा ढोग्दै पैसा मागिरहेकी छिन्, विष्णु उनलाई निरन्तर पैसा दिइरहेका छन् । यो विषयलाई लिएर अहिले सामाजिक संजाल गर्माएको छ । 

कतिपयले यसलाई दास प्रथाको रुपमा चित्रण गरेका छन् भने कतिपयले यसलाई संस्कृतिको रुपमा बुझेका छन् । सामाजिक संजालमा यो भिडियो बाहिरिएपछि महिला अधिकारी र पुरुषको सोचको तर्क समेत प्रस्तुत भइरहेका छन् । यो विषयमा एलिना र विष्णुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।