मनसराः उस्तै अपेक्षा, उस्तै दबाब

उपेन्द्र सुब्बाले पहिलो फिल्म ‘जारी’ निर्देशन गरेपछि नै दर्शकको मन जितेका छन् । यसैले, आम दर्शक, फिल्मीकर्मी र पत्रकारहरूलाई पनि उपेन्द्रले यसपटक अर्को उत्कृष्ट फिल्म बनाएका होलान् भन्ने आशा छ । 

तर, यो फिल्मको बक्स अफिस नायिका मिरुना मगरका लागि विशेष छ । किनकी, यो फिल्मको केन्द्रीय भूमिकामा नै मिरुना छिन् । फिल्मको ट्रेलर हेर्दा पनि यसपटक मिरुना नायक दयाहाङ राइको छायाँबाट केही पर छिन् । यसअघिका फिल्ममा उनलाई दयाको छायाँको वरिपरी घुमेको आरोप लागेको थियो । 

फिल्ममा यसपटक प्रवीण खतिवडा र मिरुना मगर केन्द्रमा छन् । दयाहाङ पनि फिल्ममा छन्, तर अन्य फिल्ममा जस्तो उनी हाबी नभएको ट्रेलरबाट प्रष्ट हुन्छ । 

मिरुनाले केही फिल्म खेलेर नै फिल्म क्षेत्रमा चर्चा बटुलिसकेकी छिन् । गतबर्ष फिल्म ‘रंगेली’ असफल हुँदा पनि मिरुनालाई ‘जारी र नांगो गाउँ’ले जोगाएका थिए । यो बर्ष त उनलाई ‘मनसरा’बाट नै आफ्नो काम र स्टारडम पुष्टि गर्नुछ । 

लिम्बु जातिकी यूवति र बाहुन जातको विवाहित पुरुषको नोकझोक रोचक देखिएको छ । यसमाथि, एक महिला खोजिरहेका दयाको भूमिकाले अझै कौतुहलता पैदा गरेको छ । 

निर्देशक सुब्बा आफैले पनि दर्शकले ‘छ्या’ भन्ने खालको फिल्म नबनाएको दाबी गर्दै आएका छन् । उसो त, उपेन्द्र आफ्नो विषयमा कुरा गर्दा निकै लजाउने र हाँसेरै टार्ने निर्देशक हुन् । 

वैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले बक्स अफिसमा सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ । रिलिजको तेस्रो दिनबाट त फिल्मको कथा नै बोल्नुपर्ने हुन्छ । तर, यो बर्षको सुरुवातमा ‘डिग्री माइला’ले अपेक्षित सुरुवात गर्न नसकेको अवस्थामा ‘मनसरा’माथि धेरैको ध्यान गएको छ ।