मिस इन्टरनेसनलका लागि प्रीति मलेसिया प्रस्थान

मिस टुरिजमको सबैभन्दा ठूलो मञ्च ‘मिस टुरिजम इन्टरनेसनल’को २२औँ संस्करणमा भाग लिन दमककी प्रीति पौडेल मलेसिया उडेकी छिन् । यस वर्षको मिस पूर्वाञ्चल मोडल आइकन र मिस टुरिजम नेपालको उपाधि बिजेता ‘मिस टुरिजम इन्टरनेसनल’मा भाग लिन उनी सोमबार साँझ मलेसिया उडेकी हुन् ।

‘५० देशका प्रतिनिधि सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउँदा म गौरवान्वित छु,’ मलेसिया उड्नुअघि एयरपोर्टमा उनले भनिन्, ‘सो अवसरमा मैले नेपाललाई गौतम बुद्ध, सगरमाथा, नदीनाला र पर्यटकीय गन्तव्यको देशका रुपमा परिचित गराउनेछु । भिजिट नेपाल–२०२० को तयारीमा रहेको देशका लागि मेरो प्रतिनिधित्व पक्कै पनि सहयोगी हुनेछ ।’

मलेसियाको राजधानी क्वालालाम्पुरमा दुई सातासम्म सबै सहभागीलाई आयोजकले प्रशिक्षण दिनेछ । फाइनल ८ नोभेम्बरमा हुँदै छ । प्रतियोगितामा अर्मानिया, अस्ट्रेलिया, बेलारुस, बोलिभिया, बोस्निया एन्डा हर्जगोभिना, ब्राजिल, बुल्गेरिया, कम्बोडिया, क्यानडा, चीन, चेक रिपब्लिक, इक्वेडर, इजिप्ट, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्जिया, हङकङ, भारत, इन्डोनेसिया, जापान, काजाकास्तान, कोरिया, लावस, लट्भिया, म्याकेडोनिया, मलेसिया, मेक्सिको, मोल्डोभा, म्यानमार, नेपाल, न्युजिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, रसिया, सर्बिया, सायरा लियोनी, सिंगापुर, श्रीलंका, स्विडेन, ताइवान, थाइल्यान्ड, टर्की, युगान्डा, युक्रेन, भियतनाम र जिम्बाबेका मिस टुरिजम सहभागी छन् ।