‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल


उमंगा क्रियसन प्रालिको आयोजनामा ‘मिस यूनिभर्स नेपाल २०२३’ घोषणा गरिएको छ । आज काठमाडौंको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीताका लागि आवेदन खुला गरिएको घोषणा गरिएको हो । यो मिस यूनिभर्स फ्रान्चाइजी अन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगीताको चौथो संस्करण हो । कार्यक्रममा उमंगा क्रियसनका प्रबन्ध निर्देशक उद्धव अधिकारी र राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले विश्वभर आफ्नो खुबी प्रस्तुत गर्ने नयाँ अवसर आएको बताएका थिए । 

‘मिस यूनिभर्स नेपाल’मा सहभागी हुन चाहने प्रतियोगीको उचाई र तौलको मापदण्ड गरिएको छैन । यस्तै, यो प्रतियोगीतामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्नेछन् । 
‘मिस यूनिभर्स नेपाल २०२३’को विजेताले ‘७२ औं मिस यूनिभर्स’को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यो प्रतियोगीतामा सहभागीता जनाउनका लागि मिस यूनिभर्सको वेवसाइटमा गएर वा खल्ती एप प्रयोग गरि आफ्नो नाम दर्ता गर्न सकिनेछ । 

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन् । ४ अगष्टमा आयोजकले क्वाटरफाइनलको घोषणा गर्नेछ । यस्तै, १४ अगष्टमा सेमिफाइनलिस्टको घोषणा गर्ने आयोजकले जनाएको छ ।

मिस यूनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ । सेप्टेम्बर ८ मा ‘मिस यूनिभर्स नेपाल २०२३’को घोषणा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन् । विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’मा नेपालको प्रतिनिधीत्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगीताको ताज जित्ने अवसर पाउनेछन् । 

मुख्य उपाधिसँगै ‘मिस इको इन्फिनिटी, मिस आइसीटी, मिस लाइफस्टाइल ब्यञ्जन, सामाजिक प्रभाव नेता, मार्टिनी सन एन्जल, मिस फ्रि र फियरलेस’ विधामा पनि प्रतियोगीहरुलाई पुरस्कृत गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।