यी चार फोटोले देखाउँछ प्रदिपको व्यस्तता


नायक प्रदीप खड्काले मंगलबार मात्र फिल्म ‘एक्टर’को शुभसाइत गरे । यो फिल्मको लागि उनले यज्ञ हवन नै लगाए । फिल्मको निर्माणपक्षले गरेको यज्ञ हवनमा प्रदीप पुरा अवधि सहभागी भए । यो फिल्मको छायांकन अब केही दिनमा नै सुरु हुनेछ । फिल्ममा प्रदीपले आना शर्मा र दिव्या रायमाझीसँग पर्दा शेयर गर्दैछन् । 

तर, प्रदीपको सामाजिक संजाल हेर्ने हो भने उनको व्यस्तता र मेकरले उनलाई कसरी पर्खिरहेका छन् भन्ने देखिन्छ । प्रदीपले २ दिन अगाडि मात्र फिल्म ‘पिताम्बर’को टिमसँग भेटघाट गरे । यो फिल्मको टिमले अब प्रदीपकै समय कुरिरहेको छ । पहिलो चरणको छायांकन सकेपछि निर्देशक तथा निर्मात्री कृषा चौलागाईंले जेठ १ गतेबाट दोस्रो चरणको छायांकन सुरु गर्ने योजना बनाएकी थिइन् । प्रदीपले समय दिएको खण्डमा उनलाई राहत हुनेछ । 

यता, फिल्म ‘एक्लो’को टिमसँग पनि प्रदीपले छलफल गरे । प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीपले नायिका बेनिशा हमालसँग पर्दा शेयर गर्दैछन् । यो फिल्मको टिमसँग पनि उनले छलफल गरेको फोटो सार्वजनिक भएको छ । 

प्रदीपले निर्देशक सुदर्शन थापाको नयाँ फिल्म पनि साइन गरेका छन् । गत साता उनी र सुदर्शनबीच फिल्ममा काम गर्ने गरि संझौता भएको हो । यो फिल्मको छायांकन तिहारपछि हुने भएकाले पनि प्रदीपलाई केही राहत भएको छ । 

कुनै समय फिल्म नै साइन गर्न समय लगाउने प्रदीप अहिले धमाधम फिल्म साइन गरिरहेका छन् । सामाजिक संजालमा देखिएका तस्विरले पनि उनको व्यस्तता झल्काएको छ ।