‘बोक्सीकी घर’की सुपलाः बाबुको जस्तै अब्बल अभिनयले तारिफ बटुल्दै

यस भन्दा अगाडि नेपाली फिल्म बजारमा सुपला सापकोटाको नाम खासै सुनिएको थिएन । अझ, उनी सफल कलाकार भोलाराज सापकोटाकी छोरी हुन् भन्ने त कमैलाई मात्र थाहा होला । तर, भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘बोक्सीको घर’ले सुपलालाई बाल–कलाकारको रुपमा फिल्म क्षेत्रमा स्थापित गर्ने देखिन्छ । 

सुपलाको अभिनयले प्रिमियरमा उपस्थित भएका पत्रकार, कलाकार र फिल्मीकर्मीको मन जित्यो । अझ, भनौं केकी अधिकारी जस्ती अब्बल कलाकारलाई पनि उनले यो फिल्मबाट ओझेलमा पारिदिएकी छिन् । 

सुपलाले फिल्ममा ‘जुना’को भूमिकामा अभिनय गरेकी छिन् । फिल्म हेर्दा दर्शकले सुपलाको अभिनयमा आफूलाई पाउँछन् । सुपलाले फिल्ममा ज्यान भरेकी छिन् । केकीकै बालापनको भूमिकामा अभिनय गरेकी सुपलाको संवाद बोल्ने शैली, अभिनयमा हाउभाउ, पात्र अनुसारको अभिनय गज्जब छ । यसैले, फिल्म हेरेपछि अधिकांशले उनको अभिनयको तारिफ गरे । 

फिल्ममा केकी अधिकारी र सुपला नै हाबी छन् । कथा अनुसार, यी दुई पात्र एउटै हुन् । तर, यी दुबैले बाँचेको परिवेश र समय फरक छ । 

सुपलाले केही दशक अगाडिको नेपाली समाजको प्रतिनिधित्व गरेकी छिन् भने केकीले केही बर्ष अगाडिको नेपाली समाजको प्रतिनिधित्व गरेकी छिन् । 

अभिनयकै कारण चर्चामा आएकी केकी अधिकारीसँग एक साथ पर्दा शेयर गरेर आफूलाई अब्बल साबित गर्नु सुपलाका लागि चुनौतीपूर्ण नै थियो । तर, फिल्म हेरेपछि उनकै तारिफ बढी हुनु, उनको सफलता हो । 

अब, उनको अभिनयलाई दर्शकले कसरी लिने हुन् त्यो हेर्न बाँकी छ । तर, फिल्म हेरिरहँदा फिल्मीकर्मी र पत्रकार भन्दैथिए–‘यी नानी अभिनय गर्नकै लागि जन्मिएकी हुन् ।’