नीति शाहः आत्तिएकी छैनन्, बेष्ट दिन्छु भन्ने योजनामा दौडिदै छिन्

नव–नायिका नीति शाहको मन आत्तिएको छैन । हिजो केही फिल्म छाडेकोमा पछुतो पनि छैन । साइन गरेर छायांकन नै हुन नसकेका फिल्मलाई हेरेर दिकदारी पनि छैन । तर, अहिले धमाधम फिल्म साइन गरिरहँदा अझै केही नयाँ र उत्कृष्ट काम गर्नुपर्छ भन्ने सोचले उनको यात्रा अगाडि बढिरहेको छ । 

वैशाखको २८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को प्रचारका क्रममा मेरो फिल्मसँग गफिएकी नीति शाहले फिल्म क्षेत्रमा अब लामो रेशको घोडा बन्ने सोच बोकेको प्रष्ट बुझिन्थ्यो । 

नीतिले फिल्म ‘रुखान र ज्वाइँ साब’ पनि साइन गरिसकेकी छिन् । एकपछि अर्को फिल्ममा उत्कृष्ट काम गर्दै अगाडि जाने योजना उनको छ । 

बक्स अफिसको दबाब कत्तिको छ भन्ने प्रश्नमा उनले भनिन्–‘फिल्मको प्रचार मेरो नाम र अनुहारका कारण पनि भइरहेकाले त्यो दबाब छ । फिल्म चल्ने या नचल्ने भन्ने कुरा त दर्शकको हातमा छ । तर, एउटा कुरा के हो भने यो फिल्मपछि काम गर्न लागेका अरु फिल्ममा अझै मिहिनेत गर्छु, आफ्नो बेष्ट काम गर्छु भन्ने त छ ।’

नीति शाहलाई फिल्म क्षेत्रमा स्टार बन्नु छैन । तर, एउटा राम्रो कलाकारको रुपमा चिनिने सोच भने उनको छ । नीतिले भनिन्–‘खजुरे ब्रोमा मैले जुन खालको भूमिका पाएकी छु, त्यो भूमिकालाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको छ । जति मैले स्क्रिन स्पेश पाएकी छु, त्यसमा सन्तुष्ट छु । मेरा आगामी दिनका फिल्ममा दर्शकले अझै बलियो भूमिका पाउनुहुनेछ ।’

नीतिले नेपाली फिल्म क्षेत्रको बारेमा पहिलेदेखि नै जानकारी राखेकाले पनि अहिले उनलाई काम गर्न सहज भइरहेको छ । नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जस्तो अप्ठ्यारो नभएको नीतिको छ । 

नेपाली फिल्म क्षेत्रमा नायिकाहरूको अभाव महशुश बेलाबखत हुने गर्दछ । यो बेलामा नीतिको आगमनले फिल्म क्षेत्रलाई केही हदसम्म फाइदा भइरहेको छ । तर, ‘खजुरे ब्रो’को बक्स अफिसमा नीतिका लागि महत्वपूर्ण छ । नीति आफ्नै नाममाथि फिल्मको व्यापारिक दबाब बढेकोमा भने केही हदसम्म नर्भस पनि छिन् ।