आफै फिल्म निर्माण र निर्देशन गर्दैछन् प्रकाश सपुत

यतिबेला रिलिज भइरहेको फिल्म ‘बोक्सीको घर’को ‘बुझिन मैले’ बोलको गीत सर्वाधिक चर्चामा छ । युट्युबमा १ करोड भ्यूज पाइसकेको यो गीतका कारण नै फिल्मले बक्स अफिसमा सुखद सुरुवात गरेको हो ।

फिल्मको इनिसियल व्यापारको क्रेडिट नायिका केकी अधिकारीको प्रचार शैली र गीतलाई दिँदा फरक पर्दैन । गीत हिट भएपछि केकीलाई पनि प्रचारको शैली बनाउन सजिलो भएको थियो ।

प्रकाश सपुतले तयार पारेको गीतले निकै चर्चा पाइरहँदा उनै सपुतले सेभेन सिजले तयार पार्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि साइन गरिसकेका छन् । 

तर, गायक सपुत अब आफै फिल्म निर्देशन गर्ने तयारीमा समेत जुटेका छन् । मेरो फिल्मलाई स्रोतले दिएको जानकारी अनुसार सपुतले केही समयमा नै फिल्मको घोषणा गर्दैछन् । 

यो फिल्ममा सपुतकै निर्देशन र निर्माण हुनेछ । यसका लागि उनले कथा पनि तयार पारिसकेका छन् । वुझिएअनुसार, फिल्मको घोषणा भिडियो पनि तयार पारिसकिएको छ । 

गायक सपुतले निर्देशन गरेका म्युजिक भिडियोले चर्चा पाइरहँदा उनलाई फिल्म निर्देशन गर्न पनि फ्यानहरुले आग्रह गर्दै आएका थिए । अब, सपुत फिल्म निर्देशनमा जुटेका छन् । 

गीतसंगीतका माध्यमबाट दर्शकको मन जितेका सपुतले फिल्म भने कस्तो बनाउने हुन्, हेर्न बाँकी छ ।