पल र आँचललाई ‘सत्रु गते’ – ‘चल्नु अघि मख्ख, चलेपछि हिस्स’

फिल्म ‘पशुपति प्रसाद’ चल्नु अगाडि अभिनेत्री बर्षा सिवाकोटीको गफ र फुर्ती ठूलै थियो । फिल्ममा उनको बबाल नै भूमिका रहेछ कि भन्ने अड्कल पत्रकार र दर्शकले पनि नगरेका होइनन् । तर, फिल्म चलेपछि बर्षाको फुर्ती स्वाहा भयो । फिल्ममा मुश्किलले ५ मिनेट पनि नदेखिएकी उनले प्रचारमा पनि यति ठूला गफ किन गरेकी होलिन् भनेर धेरैले कुरा गरे ।
अहिले हलमा चलिरहेको फिल्म ‘सत्रु गते’ हेरेपछि धेरैले अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मामाथि यस्तै प्रश्न सोझाएका छन् । ठूलो ब्यानर र चलेका कलाकार भएको फिल्ममा काम गरेर हिट फिल्मको संख्या मात्र बढाउनु ठूलो कुरा होइन । आफ्नो भूमिकाले पनि दर्शकलाई तान्न सक्नुपर्छ । फिल्म चल्नु अगाडि मिडियामा पल र आँचल मात्र छाए । हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की जस्ता कलाकार भन्दा पल र आँचल नै खोजिए । उनीहरुको कुरा सुन्दा, ‘सत्रु गते’ उनीहरुकै लागि बनेको फिल्म हो जस्तो लाग्थ्यो । तर, जब दर्शक र मिडियाकर्मीले फिल्म हेरे, बर्षा सिवाकोटीकै शैली संझिए ।
फिल्ममा पलको भूमिका ‘विचरा’ नै छ । अभिनेता हरिवंश आचार्य र दीपकराज गिरीको भूमिका र अभिनयको अगाडि यी दुई निकै कमजोर छन् । पलले मुश्किलले फिल्म भित्र बोलेका संवाद गन्न समेत सकिन्छ । यहि फिल्मका लागि पलले ठूला ब्यानरमा काम गरेनन्, कतिलाई त भेटेनन् पनि । फिल्म क्षेत्रमा केहि उदयमान अभिनेताहरु आफ्नै दममा फिल्म चलाउने खुबी राखिरहेका छन् । अनमोल केसी, प्रदिप खड्का, सलिनमान बनियाँ आफ्नै क्याम्प खडा गर्न तल्लिन छन् । तर, पल ठूला र दर्शकले रुचाएका कलाकारको विचमा सामान्य भन्दा सामान्य भूमिकामा काम गरेर मख्ख छन् । फिल्ममा न त उनले अभिनय देखाउन पाएका छन् न त केहि नै । आखिर, यस्तो ‘विचरा’ भूमिका गरेर कति दिनसम्म चलिएला र पल जी ?