राजनको ‘वशमा छैन’ एपीवान टेलिभिजनद्धारा चोरी !

दिनहुँ आउने चोरीका समाचार पढिरहँदा यस्तो लाग्छ, नेपाली कला क्षेत्रले आफ्नो प्रतिभामाथिको विश्वास गुमाइसकेको छ । नेपाली कलाकर्मीहरु कि त आफ्नै पुरानो गीत उडाएर कि त बलिउडका सिर्जना उठाएर आफूलाई बरिष्ठ बनाउने दौडमा देखिन्छन् ।
केहीदिन अगाडि फिल्म ‘कृ’ मा गीत चोरी गरेको आरोपमा निर्माता सुवास गिरीले ११ लाख क्षतिपूर्ति तिरेको घटना सेलाउन नपाउँदै अर्को प्रतिलिपी अधिभकार हननको घटना अगाडि आएको छ ।

गायक, एरेन्जर तथा राजन इशानले उनको गीत ‘वशमा छैन मेरो मन’ एपीवन टेलिभिजनले दुरुपयोग गरेको आरोप लगाएका छन् । एपी वन टेलिभिजनले गत बिहीबार मात्र प्रसारण सुरु भएको ‘बुगीबुगी’ डान्स रियालिटी शोमा संगीतकार गायक राजन इशानको चर्चित गीत ‘बसमा छैन मेरो मन’ लाई राजश इशानको अनुमति बेगर अर्कै गायिकालाई गाउन लगाएर प्रसारण गरेको थियो । मन्जु तिवारीले गाएको सो गीतमा सृष्टि महर्जन नामकी प्रतियोगीले नृत्य गरेकी थिइन् । राजन इशानले आफू कानुनी परामर्शको क्रममा रहेको र चाँडै नै यसलाई लिएर प्रतिलिपी अधिकार कार्यालयमा जाने बताए । उनले मेरो फिल्मसँगको फोन वार्तामा भने ’मेरो अनुमतिबिना यो प्रयोग भएको छ । अब म कानुनी प्रक्रियामा जान्छु । म आफैले केहि गरौला भनेर राखेको गीत कसैले कभर गर्छु भन्दा पनि दिएको थिइँन । एक्कासी टेलिभिजनमा अर्कैको आवाजमा बजेको देख्दा छाँगाबाट खसेजस्तो भएको छु । मैले संगीतकार संघमा कुरा राखिसकेको छु । अब भोलि केस गर्छु ।’ उनले कुन आधारमा किन र कसरी प्रयोग भयो भन्ने जानकारी नभएको बताए ।

इशानले आफूलाई सोध्दै नसोधी यस्तो प्रतिष्ठित टेलिभिजनले कसरी गीत अर्कोलाई गाउन लगाउँछ, विश्वास गर्न गाह्रो भइरहेको पनि बताए । ‘इन्टरनेसनल फ्रेन्चाइज लिन उहाँहरुले कति दुःख गर्नु हुन्छ ?  कति खर्च गर्नुहुन्छ ? अनि नेपाली सर्जकलाई चाहिँ सोध्न पनि जरुरी नठान्ने उहाँहरुको पोलिसी बुझिन । के हाम्रो कुनै भ्यालु नै छैन ?जे गरे पनि हुन्छ भन्ने ? यो कत्तिको जायज छ ?’उनले प्रतिप्रश्न गरे ।
मेरो फिल्मले एपीवानका कार्यक्रम सम्बद्ध व्यक्ति संगीतकर्मी प्रविन श्रेष्ठलाई सो विषयमा जिज्ञाषा राख्दा आफूहरुले संगीतकार संघसँगको सल्लाहमा सो गीत प्रयोग गरेको बताए । श्रेष्ठले भने,‘हामीले कार्यक्रम सुरु गर्नु अगाडि लक्ष्मण शेष र सुरेश अधिकारी लगायतसँग बसेर सल्लाह गरेका थियौँ । संगीतकार संघमा कार्यक्रम दर्ता गरेका छौँ ? उहाँहरुको सल्लाह अनुसार नै हामीले केही हुँदैन होला भन्ने हिसाबमा गीत प्रयोग गरेका हौँ । फेरि त्यसमा कोरियोग्राफरको पनि कुरा आउँछ । एउटा थिममा बसेर हामीले काम गर्ने गरेका छौँ । त्यही सिलसिलामा गीत प्रयोग भएको हो । हामी प्रत्येक गायक गायिकालाई भेटेर बस्न सक्दैनौ नी । संगीतकार संघले कोर्डिनेट गरिदिन्छु भन्नु भएको आधारमा प्रयोग गरेका हौँ ।’

राजन इशानको सो गीत गाएकी गायिका मन्जु तिवारीले भने आफूलाई गाइदे भनेकाले गाउने मात्र काम गरेको बताइन् । ‘मलाई टिमले बोलाएर गीत गाउन लगाए । मैले सोधेको पनि हो अनुमति लिइसकेको हो भनेर? उहाँहरुले त्यो अनुमति लिने काम हामीले गरिसकेका छौँ, तिमीले गाउने मात्र हो भन्नु भयो । त्यति भनेपछि मैले भोकल गरेकी हुँँ । उहाँहरुले अनुमति नलिएको कुरा बल्ल थाहा पाउँदैछु,उनले भनिन् ‘’एपीवन जस्तो संस्थाले अनुमति नलिई त्यस्तो छल गर्ला भन्ने मलाई पनि लागेन । तर राजन सरले हैन भन्नु भयो भने यो गलत भयो ’, मन्जुले भनिन ।
संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एपीवनसँग कुनै एग्रिमेन्ट नभएको बताए । ‘गीत खोज्दिने मामलामा सहयोग गरिदिनु पर्यो भनेर फोन गर्नु भएको थियो । हामी गएर कुरा गरेका हौँ तर कुनै एग्रिमेन्ट भएको छैन । राजनजीको केसमा उहाँहरुले गल्ती गर्नु भएकै हो । त्यसमा संगीतकार संघले पनि आवश्यक प्रकृया अगाडि बढाउने छ ।’
फोटो : राजन इशानको फेसबुकबाट