‘फिल इन द ब्ल्याङ्क्स’मै सिमित नाजिर

एकातिर अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पर्दामा रोमान्स गरिरहेका छन् । अर्कोतिर, अभिनेता नाजिर हुसेन साम्राज्ञीलाई पाउन उनसँग कमेडी गरिरहेका छन् । फिल्म ‘तिमी सँग’को ट्रेलरमा यस्तै दृश्य देखिन्छ ।
अभिनेता नाजिर हुसेनको करिअर नेपाली फिल्ममा अचम्मको छ । एक्लै आए डब्बा, गु्रपमा आए हिट । यो बर्ष रिलिज भएको फिल्म ‘राज्जा रानी’, अघिल्लो बर्ष रिलिज भएको फिल्म ‘गाँठो’मा उनी मुख्य हिरो थिए । दुबै फिल्म असफल भए । नाजिरले आफ्नो बलले दर्शकलाई प्रभावित गर्न सकेनन् ।

तर, जब उनी कुनै हिरोको साथी भएर फिल्ममा आउँछन्, चम्किहाल्छन् । ‘विर विक्रम’मा उनी चम्किए, हलमा दर्शक दयाहाङले ताने । नाजिर हुसेनले केही समय अगाडि एउटा फिल्ममा मुख्य हिरो भएको ५ लाख पारिश्रमिक मागेको चर्चा चलेको थियो । तर, नाजिरलाई ५ लाख दिएर निर्माताले फिल्म बनाउन चाहेनन् ।
नाजिर नेपाली फिल्ममा राम्रो अभिनय गर्न सक्ने अभिनेताको रुपमा चर्चित छन् । तर, उनको भूमिका ‘खाली ठाउँ भर्ने’ जस्तो देखिएको छ । अझ भनौ न, ‘फिल इन द ब्ल्याङ्क्स’ जस्तै ।