शहरभरी प्रियंका, दंग हुने कि दिक्क ?

फिल्म ‘ह्याप्पी डेज’को प्रचारका लागि अभिनेत्री प्रियंका कार्की आज रथ यात्रामा सहभागी भइन् । रथ चढेर उनी फिल्मका अभिनेता संजय गुप्तासँग शहर घुमिन् । प्रियंकालाई पहिले पनि उनका प्रेमी आयुष्मान देशराजले यसरी नै रथमा हालेर घुमाएका थिए । रथ यात्रापछि मिडियासँग बोल्दै प्रियंकाले शहरभरी आफ्नो फिल्म लागेको भन्दै खुशी व्यक्त गरिन् । उनी अभिनित फिल्म ‘सत्रु गते र लिलिबिली’ हलमा लागिरहेका छन् । अब, वैशाख १४ गते फिल्म ‘ह्याप्पी डेज र कोहलपुर एक्सप्रेस’ चल्दैछन् । वैशाख १४ गते प्रियंकाले अभिनय गरेका ४ वटा फिल्म हलमा हुनेछन् ।

प्रियंका मिडियासँग कुरा गर्दै सिंगो फिल्म क्षेत्र नै आफूले कब्जा गरेको जस्तो गरि दंग थिइन् । उनलाई आफू मात्र हलमा आइरहँदा दर्शक दिक्क हुन्छन् भन्ने कत्ती पनि डर थिएन । बरु, उनी हलभरी आफू मात्र छाएको भन्दै मख्ख थिइन् । एउटा अभिनेत्रीलाई बारम्बार दर्शकले पर्दामा हेर्नुपर्दा वाक्क हुन्छन् । चिनी धेरै खायो भने तितो हुन्छ भन्ने प्रियंकाले वुझ्न जरुरी छ । धेरै फिल्म खेलेर, लगातार फिल्म रिलिज हुँदा मख्ख पर्नुभन्दा बरु दर्शकलाई केही समय पर्खाइमा राखेर हलमा आउँदाको शान अर्कै हुन्छ । प्रियंकाले हलमा आउनु मात्र ठूलो कुरा हो भन्ने सोच्न थालिन् भने उनको करिअर लामो समयसम्म जाला भन्न सकिदैन ।