निरुतालाई पशुपतिको जात्रा सिद्राको व्यापार

हुनत, अभिनेत्री निरुता सिंह नेपाल आउनुको मुख्य कारण अवार्डमा नृत्य गर्न थियो । अवार्डका लागि एक साता अगाडि नै नेपाल आएर उनले तयारी पनि गरेकी थिइन् । निरुता ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा सहभागी हुन नेपाल आएकी हुन् । उनले, आफूले अभिनय गरेका फिल्ममा नृत्य गर्ने तयारी गरेकी थिइन् । तर, बिहिबार उनको यो चाहना अपुरै भयो । मेकअपले सजिएकी निरुताले नृत्य  गर्न पाइनन् । अवार्ड आयोजकले मौसमको बिषयमा कत्ति पनि दिमाग नलगाएपछि खुल्ला चौरमा गर्न लागिएको अवार्डलाई पानीले विथोल्यो ।

जसलेगर्दा, अवार्ड एउटा सानो हलमा वितरण गरियो, जहाँ कुनै नृत्य प्रस्तुत भएनन् । यसले निरुतालाई निराश त बनाएकै थियो । तर, निरुताले नृत्य गर्न नपाएपनि अभिनेता अनमोल केसीलाई भेट्ने चाहना पुरा गरिन् । निरुताले सानैमा देखेका अनमोल अहिले ठूला भैसकेका छन् । तर, निरुताले ठूलो भैसकेपछि अनमोलसँग भेट गर्न पाएकी थिइनन् । बिहिबार उनका लागि त्यो अवसर जुरेको छ ।

यस्तै, निरुताले नेपाल आएको समयमा फिल्म ‘नाई नभन्नु ल ५’मा थोरै भूमिका भएपनि काम गर्ने भएकी छिन् । निरुताका लागि निर्देशक विकास आचार्यले प्रस्ताव गरेका थिए । निरुताले पनि नाई भन्न सकिनन् र राम्रै पारिश्रमिक लिएर १ दिन फिल्मका लागि समय दिने भएकी छिन् । अवार्डका लागि नेपाल आएकी निरुताले २ वटा चाहना पुरा गरेकी छिन् । अनी भएन त, पशुपतिको जात्रा  सिद्राको व्यापार ।