काम गर्ने पुष्प, अवार्ड लैजाने अनमोल

नेपालीमा एउटा उखान छ ‘काम गर्ने कालु मकै खाने भालु’ । यस वर्षको एनएफडिसी अवार्डमा त्यस्तै देख्न पाइयो । साल भरि मेहनत एउटाले गर्यो अनि अवार्ड पोल्टामा अर्कैले पार्यो । कुरा सर्वोत्कृष्ट नायकको हो । यस वर्ष अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुष्प खड्का, दयाहाङ राई सर्वोत्कृष्ट नायकको विधामा नोमिनेसनमा थिए । यी ५ मध्ये समीक्षकबाट पनि उत्कृष्ट प्रतिकृया पाएका नायक थिए पुष्पल खड्काले । तर अवार्ड उनले पाएनन्, अवार्ड पाए अनमोल केसीले ।

उनको र अवार्डको सम्बन्ध सौतेनी आमाको जस्तै छ । उनी नोमिनेसनमा नपरेको अवार्ड कमै होलान तर हातमा भने शून्य । धेरैको अनुमान थियो, यो पाला पुष्पल खड्काले फिल्म मंगलमबाट सर्वोत्कृष्ट नायकको अवार्ड पाउँछन । तर कथाले अर्कै मोड लियो । खासै सार्वजनिक समारोहमा नजाने अनमोल केसीदेखि नोमिनेसनमा परेका मध्ये दयाहाङ राई बाहेक ४ जनाको उपस्थिती अवार्ड कार्यक्रममा थियो । खुल्ला चौरमा गरिएको अवार्ड समारोह पानीले बिथोलेपछी होटलको लबिमा पुन सुचारु गरियो जहाँ जलपान, मध्यपान र खानाको ब्यवस्था गरिएको थियो ।

अवार्ड बितरण हुँदै गर्दा पालो आयो सर्वोत्कृष्ट नायकको । अनमोलबाहेक मनोनयनमा परेका प्रदिप, पल र पुष्पल हामी मध्ये जसले अवार्ड पाए पनि सेयर गर्ने भनेर कुरा गरिरहेका थिए । तर नाम अनाउन्स हुने बेलामा अनमोल केसीको नाम आयो । उनले फिल्म ’कृ’बाट उक्त अवार्ड पाएका थिए । फिल्ममा अनमोलले मेहनत त गरेका थिए, तर अभिनय सुधार्न होइन ज्यान बनाउन । तर नेपाल यस्तो देश हो जहाँका कलाकारको अभिनय जस्तो सुकै होस् थोपडा राम्रो भए हुन्छ । यही थोपडाका कारण अनमोललाई धेरेले रुचाउँछन् र अवार्ड आयोजकले पनि राम्रो अभिनय गर्नेलाई अवार्ड दिनुपर्छ भन्ने बिर्सेर अनमोल जस्तालाई अवार्ड दिन्छन् जसको अभिनयबाहेक सब ठिक छ ।

म्युजिक भिडियो अवार्डमा होस् वा फिल्मी अवार्डमा बिचरा पुष्पल यही हालत खेपिरहेका छन् । अवार्डभन्दा रिवार्ड ठूलो हो पुष्प जी । अवार्ड एक दुई जनाले दिन्छन् तर रिवार्ड जनताले दिन्छन् । राम्रो काम गर्दै जानुस्, अवार्ड आफैं खोज्दै आउँछ ।