तपाइको सोच त बलिउड होइन, साउथ मै पुगेछ नी निर्देशक ज्यू

फिल्म ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर रिलिजको दिनमा निर्देशक विशाल भण्डारीलाई पत्रकारले प्रश्न सोधेका थिए कि, तपाइको फिल्मको रोमान्टिक गीतको भिडियोको सुरुवाती अंश बलिउड फिल्म ‘रइस’सँग मिल्छ नी ? यसमा विशालको भनाई थियो, मलाई त त्यस्तो लाग्दैन । यदि, मिली हाल्यो भने मेरो सोच पनि बलिउड स्तरको भएछ भनेर सोच्नु पर्यो नी होइन ?

विशालले गीतको भिडियो हिन्दी फिल्मको भिडियोबाट प्रभावित भएको समेत स्विकार गरेनन् । तर, अहिले फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज भएपछि यसको चर्को आलोचना भैरहेको छ । यो फिल्म सन. २००५ मा निर्माण भएको साउथ इन्डियन फिल्म ‘मुम्बइ एक्सप्रेस’बाट कपि भएको समिक्षकहरुले टिप्पणी गरिरहेका छन् । फिल्मको समिक्षामा यो फिल्म चोरिएको भनिएको छ । दर्शकले पनि साउथ फिल्मबाट यो फिल्म चोरिएको बताएका छन् ।

गीतपछि अहिले पुरै फिल्मलाई नै चोरीको आरोप लागिरहेको छ । ९० प्रतिशत भन्दा बढी दृश्य मिलेको भन्दै समिक्षहरुले निर्मात्री केकी अधिकारीको छनोटमा पनि प्रश्न चिन्ह उठाएका छन् । गीतको भिडियोको अंश मिल्दा आफ्नो सोच बलिउडसँग मिल्न गएको भन्ने निर्देशक विशाल भण्डारीले अब के भन्लान् ? कि फेरि भन्लान्, मेरो सोच बलिउडमा मात्र होइन, सिंगै साउथ इन्ट्री लेभलको रहेछ ।