विज्ञापनबाट मालामाल, फिल्मबाट बेहाल प्रियंका

अभिनेत्री प्रियंका कार्कीलाई अहिले विज्ञापनले मालामाल बनाएको छ । उनले, एक अन्तरराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गरेको २ बर्षमा २० लाख भारुमा संझौता भएको बताइन् । प्रियंका कार्कीले यदि २० लाख भारु लिएकी हुन् भने उनी सबैभन्दा महंगो पारिश्रमिक लिएर विज्ञापनमा काम गर्ने कलाकार बनेकी छिन् । प्रियंकाले अब चाडै एउटा मदिरा कम्पनीको विज्ञापनका लागि पनि २० लाख नेपाली रुपैयाँमा संझौता गर्न लागेको खबर फैलिएको छ । यी बाहेक अहिले पनि प्रियंकाको हातमा विज्ञापनको अभाव छैन ।

अभिनेत्री कार्की विज्ञापनबाट मालामाल बनिरहँदा उनको फिल्ममा भने बेहाल छ । प्रियंकाको फिल्म अभिनय छरपष्ट र सम्हालिनसक्नु खालको छ । न त गतिलो भूमिका नै उनले गरेकी छिन् न त दर्शकले संझनलायक भूमिका नै । अफर आएका जस्ता भूमिकामा पनि उनले काम गरिरहेकी छिन् । सानो, ठूलो, मुख्य, केमियो भूमिका उनका लागि स्विकार्य छ । प्रियंका सम्बन्धको कारणले पनि फिल्ममा काम गर्नुपर्ने कारण देखाउँछिन् । तर, उनी सम्बन्ध भन्दा पनि पैसाको पछि दौडिएको कुरालाई नकार्न सकिदैन । एकै साता २ वटा फिल्म समेत उनको रिलिज भएका छन् । अरुको नामबाट हिट भएका फिल्मको क्रेडिट लिएर प्रियंका कहिलेसम्म मख्ख पर्ने हुन् त्यो उनले नै जानुन । तर, अब प्रियंका विज्ञापनबाट मालामाल हुन थालेकी छिन् । यस्तो अवस्थामा आफ्नो ब्रान्ड नै घटाएर कमजोर भूमिकामा काम नगर्ने कि ? फिल्मको संख्या मात्र बनाएर कुनै अर्थ छ र ? यसैले, विज्ञापनबाट मालामाल, फिल्ममा बेहाल हुने अवस्था अब नआओस्, प्रियंका जी सोचौँ है सोचौँ ।