अनुप जी, अब अत्ती भएन र ?

नेपाली फिल्ममा २ प्रकारका हिरो आएका छन् । एउटा कम फिल्म खेलेर दर्शकमा कौतुहलता जगाउने । दोश्रा जति अफर आउँछ सबै फिल्म खेलेर पैसा कमाउने । पैसा कमाउने धुनमा लागेका हिरोहरु चाँडै हराएका पनि छन् । आर्यन सिग्देल, जीवन लुइटेलले आफ्नो अभिनय र चकलेटी अनुहारबाट चर्चा पाउँदै गर्दा पैसाका लागि मनलाग्दी फिल्म खेले । अहिले, यी दुई अभिनेताको अस्तित्व फिक्का छ । यसपछि, दयाहाङ राई, सौगात मल्ल जस्ता अभिनेताले पनि यही नीति अपनाए । दर्शक विच्किए र अहिले यी दुई पनि ओझेल पर्दैछन् ।अभिनय राम्रो गर्ने अभिनेताको सूची नेपालमा लामो छैन । तर, आफ्नो दमदार अभिनयले दर्शकको मन जितिरहेका अभिनेता हुन्, अनुप विक्रम शाही । अनुप खेलेको फिल्ममा हिरो नै छायाँमा पर्छन् भनिन्छ । तर, अनुप आफै भने हिरो बन्न सकेका छैनन् । उनले सिंगै फिल्म बोक्ने हिम्मत गर्न सकेका छैनन् । अनुप जस्ता दमदार अभिनय गर्ने अभिनेता अझै पनि सिंगल म्यान बन्न सकेका छैनन् । यसको मुख्यकारण हो, अनुप पनि पैसाको पछि लाग्नु ।

अहिले चलिएको छ भनेर अनुपले जति पनि फिल्ममा काम गरेका छन् । अफर आएका जस्ता पनि फिल्ममा उनले काम गरेका छन् । अनुप अहिले वैकल्पिक अभिनेताको रुपमा देखिएका छन् भन्दा फरक पर्दैन । अनुपकै अभिनय रहेको फिल्म ‘झमकबहादुर’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममा त अनुप, अनुप नदेखिएर साउथका सुपरस्टार कमल हसन देखिएका छन् । कमल हसनले काम गरेको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट यो फिल्म कपी छ भन्ने ट्रेलरबाट पनि थाहा हुन्छ । अनुपले अब कथा हेरेर आफूलाई अगाडि बढाउने बेला आएन र ? कि सधै चोरिएका कथा र अरु हिरोको छायामा हिट हुने ? अनुपजी, अब त अत्ती भएन र भन्या ।