अामा बनेका नेपाली हिरोइनहरु

समयको आफ्नै गति छ । त्यसैले यो गुज्रिरहने समयले मान्छेलाई पनि आफ्नै रफ्तारमा डोहोर्याउँछ । जिदगीमा समयले नै भूमिकाहरु परिवर्तन गर्दिरहन्छ । समाजिक व्यवस्थामा एउटा नारी बालिका, युवति हुँदै श्रीमती आमा र हजुरआमासम्मको भूमिकामा बदलिन्छे । पुरुषको हकमा पनि त्यस्तै हुन्छ ।

जिन्दगीको सबैभन्दा ठूलो फेरबदल नारीका लागि, शायद आमा बनेपछि नै हुन्छ । फिल्मी क्षेत्रमा त झन आमा बनेपछिको समयको ठूलो अर्थ छ । प्राकृतिक रुपमा बदलिने शारीरिक अवस्था, समाजिक रुपमा आमाको रुपमा निभाउनुपर्ने भूमिका र पारिवारिक रुपमा बढ्ने उत्तरदायित्वले एउटा हिरोइन आमा बनेपछि फिल्मी क्षेत्रमा टिकीरहनै गाह्रो छ ।

तर, कतिपयले यो चुनौतीलाई पार लगाएर आफ्ना छोरा–छोरीको फिल्म डेब्यु हुँदसम्म पनि आफूलाई नायिकाकै रुपमा कायम राख्न सफल छन् । कतिपयलाई भने आमा बन्नासाथै फिल्मी क्षेत्र छोड्नु परेको छ । कतिपय फिल्मी भूमिकामा देखिन नसके पनि यहाँबाट बिल्कुलै अलग भएर बस्न सकेका छैनन् ।

आमा बनेपछि हिरोइनको क्रेज खस्किन्छ भन्ने आम मान्यतालाई कोहीले दह्रो चुनौती दिएका छन् भने कोहीले त्यसलाई स्थापित गराउने अवस्था पनि देखाएका छन् ।

तर, जे होस नेपाली फिल्म क्षेत्रमा पनि केही त्यस्ता ‘आमा हिरोइन’हरु छन्, जो अरुको प्रेरणाको पात्र बन्न सक्छन् । केही त्यस्ता आमाको भूमिका निभइरहेका हिरोइनहरुबारे यहाँ चर्चा गरिन्छ ।

करिष्मा मानन्धर नेपाली फिल्मी क्षेत्रमा सबैभन्दा उँचो लोकप्रियता भएकी नायिका हुन् । उनी सदाबाहार छिन् । उनी अहिले पनि हिरोइनकै भूमिकामा फिल्म खेलिरहेकी छिन् । तर, उनकी छोरी कविता फिल्ममा डेब्युको तयारीमा छिन् । ‘एउटा यसतो प्रेम काहानी’बाट शिव श्रेष्ठको छोरासँग कविताले आमाले अंगालेको क्षेत्रमा प्रवेश गर्दैछिन् ।

१४ वर्षको उमेर ‘सन्तान’ फिल्मबाट डेब्यु गरेकी करिष्माकी छोरीको उमेर २० कटिसक्यो । ‘कस्तुरी’ फिल्ममा काम गर्ने क्रममा करिष्मा र विनोद मानन्धरबीच प्रेम सम्बन्ध कायम भएको थियो । प्रेम बिवाहपछि जन्मिएकी कवितालाई फिल्म क्षेत्रमा ल्याउने करिष्माको सपना बल्ल पुरा हुने क्रममा छ ।

कविताले फिल्म क्षेत्रमा कस्तो काम गर्लिन् भन्ने चासो सबैको छ । छोरीभन्दा बोल्ड रुपमा प्रस्तुत हुने करिष्मा अब फिल्म निर्माणमा लागेकी छिन् । छोरीलाई फिल्म क्षेत्रमा उतारेकी करिष्माले आफ्नो अनुभवलाई छोरीको फिल्मी करियरमा कसरी प्रस्तुत गराउलिन् हेर्न बाँकी छ ।

विवाहपछि पनि कसैले फिल्मी क्षेत्रमा राज गर्न सक्छ ? सक्छ । यो जवाफ नायिका झराना थापाले आफ्नो कामबाटै दिएकी छिन् । ‘दाइजो’ फिल्ममा काम गर्ने क्रममा नै उनको निर्माता सुनिलकुमार थापासँग विवाह भएको थियो । लगत्तै उनको छोरी ‘सुहाना’को जन्म भयो । सुहानाले पनि अहिले उमेरले २० वर्ष काटिन् ।

छोरीको जन्मपछि पनि झरना हराइनन् । आफ्नो परिवारको निरन्तरको प्रेरणा र सहयोगमा उनी फिल्मी क्षेत्रमा अझै पनि सक्रिय छिन् । उनी अहिले निर्देशकका रुपमा काम गरिरहेकी छिन् । तर, अफर आउँदा उनी हिराइन पनि बन्न तयार नै छिन् । उनले निर्देशन गरेको फिल्मी ‘ए मेरो हजुर २’ व्यवसायिक रुपमा सफल भएपछि उनी तेस्रो सिक्वेल निर्माणको तयारीमा छिन् ।

सँगै उनकी छोरी पनि फिल्ममा डेब्युको लागि तयार हुने अवस्थामा छिन् । तर, अहिलेसम्म सुहाना फिल्म क्षेत्रमा आउँछिन्-आउँदिनन् भन्नेबारे झरनाले मुख खोलेकी छैनन् । आमाको निरन्तरको सक्रियताले सुहानाको भविष्यलाई पक्कै पनि सुखद् बनाउला ।

आमा बनेपछि पनि फिल्म क्षत्रेमा फर्केकी नायिका हुन्, सञ्चिता लुइँटेल । निखिल उप्रेतिसँगको प्रेम विवाहपछि उनका दुई सन्तान जन्मिए, अर्थव र सानभी ।

सञ्चिता अहिले बच्चाको रेखदेखमै व्यस्त छिन् । ‘अप्सरा’ फिल्मबाट डेब्यु गरेकी सञ्चिाता अहिले फिल्म क्षेत्रबाट थोरै पर छिन् । उनले आमा बनेपछि खेलेको ‘राधा’ व्यवसायिक रुपमा असफल भयो । तर, अझै पनि सञ्चिताले फिलम क्षेत्रलाई माया मार्न सकेकी छैनन् ।

छोरा–छोरीको हेरचाहले उनलाई गाँजेका कारण पनि असजिलो भएको छ उनलाई । श्रीमान निखिल पनि फिल्ममा व्यस्त भएकाले उनी यो क्षेत्रबाट गायब नै होलिन् भन्ने कसैलाई लागेको छैन । अब सञ्चिताले के गर्लिन् भन्ने कुरा भविष्यले नै बताउनेछ ।


कुनै समय शालिन नायिकाका रुपमा रुचाइएकी हिरोइन हुन्, मेलिना मानन्धर । ‘मिलन’ फिल्मबाट उदाएकी मेलिना पनि अहिले रियल लाइफमा आमा छिन् । मेलिस्का ढकाल उनकी छोरी हुन् । ११ वर्षअघि नायक मुकेश ढकालसँग उनको प्रेम विवाह भएको हो । उनकी छोरी अहिले ७ वर्षकी भइन् ।

आमा भएपछि मेलिना नेपाली फिल्म क्षेत्रमा फर्किएकी छैनन् । मेलिस्काको जन्म पछि एउटा नेवारी फिल्म खेलिन, त्यसपछि उनी गुमनाम छिन् । कुनै समय निकै हिट फिल्म दिएकी मेलिना पनि पारिवारिक जीवन सम्हाल्नैमा व्यस्त छिन् । उनी फिल्म क्षत्रेमा फेरि फर्किने आशा झिनो मात्रै छ ।

नायिका भरना बज्राचार्य पनि यस्तै नायिकाको सूचीमा छिन् । छोरा इशानलाई हुर्काउने जिम्मेवारीबाट अलग भएर उनी फिल्म क्षत्रेमा फर्किन सकिरहेकी छैनन् ।

भारतीय मूलका ब्यवसायी राहुल अग्रवालसँग झरनाको विवाह भएको छ । मिस नेपालको ताज पहिरिएकी यि नायिका अहिले पूर्ण रुपमा पारिवारिक जीवनलाई अघि बढाइरहेकी छिन् । त्यसमै रमाइरहेकी छिन् ।

‘हतियार’ फिल्मबाट डेब्यु गरेकी यि नायिकालाई पनि अब फिल्म क्षेत्रमा पुनरागमन गर्न त्यति सजिलो छैन । तर, आफूलाई नाम दिएको क्षेत्रमा उनी आइदिउन् भन्ने अपेक्षा राख्ने धेरै छन् । उनी कुनै समयमा म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी मोडल पनि थिइन् ।

माल्भिका सुब्बा पनि अहिले छोरा ‘जाइर रिओ’लाई हुर्काउने मुख्य भूमिका निभाउँदैछिन् । पूर्व मिस नेपाल माल्भिाका स्टेज कार्यक्रममा अहिले पनि सबैभन्दा बढी खोजिने र देखिने पात्र हुन् । उनी अभिनेत्री, मोडल, सञ्चारकर्मी र उद्यमीका रुपमा सक्रिय छिन् ।

आमा बनेपछि पनि उनको सक्रियता खुम्चिएको छैन । ‘हाउ फन्नी’मार्फत फिल्म निर्माणमा समेत हात हालेकी माल्भिकाले ‘गड लाइभ इन द हिमालयज, गुड बाई काठमाडौं लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

रियाज श्रेष्ठसँग प्रेम विवाह गरेकी माल्भिकाका छोरा अहिले दुईवर्षका पुग्दैछन् । तर, फिल्म क्षेत्रमा माल्भिकाको आफ्नै किसिमको सक्रियता घटेको भने छैन ।

नेपाली फिल्म क्षेत्रमा कुनै समयमा अग्रपंक्तिकी नायिका गनिने बिपना थापा पनि अहिले आमाको भूमिका निभाउँदै छिन् । विवाहपछि फिल्म क्षेत्रलाई चटक्कै छाडकी विपनाका छोर हुन्, कुशाग्र । भारतीय नागरिक आशुतोष भारद्वाजसँग उनी विवाह बन्धनमा बाँधिएकी छिन् ।

फिल्म निर्माण क्षेत्रमा नै सक्रिय छन उनका पति । त्यसैले उनी यो क्षत्रेबाट यसरी गायब होलिन् भन्ने अनुमान थिएन । तर, अहिले उनी आफ्नो पारिवारिक जीवनमै मग्न छिन् ।

फेसन डिजाइनरका रुपमा पनि चिनिएकी विपना अहिले भारतमा बस्छिन् । उनी नेपालमा पनि खासै आउँदिनन् । त्यसैले अब उनी छोरा कुशाग्रकै हेरचाहमा व्यवस्त छिन् । छोराको रेखदेख र पारिवारिक व्यवस्थापनमा रमाइरहेकी विपना फिल्म क्षत्रेमा फेरि फर्केलिन् भन्ने अपेक्षा निकै क्षिण छ ।

अहिलेका सबैभन्दा बढी रुचाइएका नायक अनमोल केसीकी आमा सुस्मिता केसी पनि ‘हिरोइन आमा’को सूचीमा अटाउँछिन् । नायक भुवन केसीसँग कानुनी रुपमा अलग भइसकेकी यि नायिका अहिले फिल्म निर्माणमा व्यस्त छिन् ।

‘म त तिम्रै हो’ निर्माण गरेकी सुस्मिताले अभिनय गरेका धेरै फिल्मले कुनै समया निकै चर्चा पाएका थिए ।

अरुणिमा लम्साल पनि सन्तानको स्यहारका लागि बिश्राम लिएर बसेकी नायिका हुन् । उनी अहिले आफ्नी छोरी अक्षतालाई मातृत्व प्रदान गर्नमै व्यस्त छिन् । ‘अजम्बरी’ फिल्मबाट डेब्यु गरेकी नायिका अरुणिमाले दर्जनभन्दा बढी हिट फिल्म दिइन् । बैंकर अमित अर्यालसँग प्रेम विवाह गरेपछि भने उनले फिल्मी करियरलाई बिश्राम दिइन् ।

आमा भएपछि पनि उनले फिल्म क्षेत्रमा फेरि आउने प्रयास गरिन् । ‘पिपल’ र ‘उर्वसी’ खेलिन् । तर, दुबै फिलम असफल भएपछि उनी पनि अरु जस्तै गुमनाम छिन् । अमेरिकामा बसिरहकी अरुणिमाले फेरि फिल्ममा कमब्याक गर्लिन् भन्नेमा आशंका गर्ने ठाउँ प्रशस्तै छ ।

नायिका ऋचा घिमिरे पनि ३ सन्तानकी आमा भइसकिन् । निर्देशक शंकर घिमिरेसँग विवाह गर्नुअघिसम्म ऋचाले थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् । तर, अमेरिका गएपछि उनी पनि फर्किइनन् । छोरा मिजास र महर्षि सहित एक छोरीलाई हुर्काउने दायित्व उनकै काँधमा छ ।

उनी अन्तिम पटक फिल्म तुलसीमा देखिइन् । तर, फिल्म असफल भएपछि उनी यहाँबाट गायब छिन् ।

फिल्म क्षेत्रकी सबैभन्दा नयाँ आमा हुन्, निशा अधिकारी । शुक्रबार मात्रै निशाले आफ्नो छोरालाई अमेरिकामा जन्म दिएकी छिन् । क्रिकेटर शरद भेषवाकरसँग प्रेम विवाह गरेकी निशाले छोराको नाम ‘निशरद’ राखेकी छिन् ।

दर्जनौं फिल्म खेलेकी निशाले अहिले फिल्म निर्माणमा हात हालेकी छिन् । उनले निर्माण गरेको फिल्म ‘झ्याइकुटी’ केही महिनाअघि मात्रै रिलिज भएको थियो ।

तर, अब छोराको जनम पछि उनी केही समय पक्कै पनि फिल्म क्षेत्रबाट अलग रहनेछिन् ।