रीस्ताको यात्रा

अभिनेत्री रीस्ता बस्नते कलाकार विपना बस्नेतकी छोरी हुन् । कलाकारकै छोरी हुँदाको फाइदा रीस्तालाई फिल्म लाइनमा आउन भयो । उनले, फिल्म खेल्नका लागि दुख गर्नुपरेन । कसैको अफिस धाएर नमस्कार पनि गर्नु परेन । तर, फिल्म पाउनु ठूलो कुरा भएन । फिल्ममा काम गरेर चल्नु ठूलो कुरा भयो ।

अभिनेत्री रीस्ता बस्नेतलाई कुनै दर्शकले याद गरेका रहेछन् भने उनीहरुले रीस्ता कता गइन् भनेर खोज्दै होलान् । नत्र, उनलाई नोटिस गर्ने दर्शकको संख्या ठूलो मात्रामा छैन । रीस्तालाई अहिले फिल्मको अफर आउन छाडेको छ । फिल्म लाइनमा हिरोइनहरु बाक्लो हुँदै गएपछि रीस्तालाई खोजी कसले गर्ने ?

यसैले रीस्ता अब आइटम नृत्यको भरमा पनि छिन् । शुक्रबारबाट हलमा लागेको फिल्म अमेरिका बोइजमा दर्शकले रीस्तालाई देख्न पाउँछन् । फिल्मको लीड हिरोइन अर्कै छिन् । जसले, फिल्म लाइनमा धेरै समय बिताएकी छैनन् । तर, रीस्तालाई फिल्ममा आइटम नृत्यमै सिमित पारिएको छ ।

यसैले पनि रीस्ता अब फिल्मकी हिरोइन नभएपछि आइटमतिर लागेकी हुन् कि भन्ने दर्शकको सोच बनेको छ । रीस्ताको फिल्मको यात्रा राम्रो थियो । तर, अहिले उनको यात्रा विच बाटोमै अल्झिएको छ ।