आकाशको धर्मसंकट

अभिनेता आकाश श्रेष्ठ धर्मसंकटमा फस्ने भएका छन् । आकाशलाई धर्मसंकट उनकै कामले पार्न लागेको हो ।

गएको बर्ष ‘तिमी सँग’ फिल्म चलेको भए आकाशलाई लामो श्वास फेर्ने वातावरण बन्थ्यो । यो फिल्म नचलेपछि आकाशलाई यो बर्ष चल्ने ब्ल्याक, रामकहानी, ड्रिम गर्लमा आश छ ।

तर, बिडम्बना यी फिल्म डेढ महिना भित्र नै रिलिज हुँदैछन् । भदौ १ गतेबाट असोज १९ गतेसम्म आकाशका तिनैवटा फिल्म चल्दैछन । यो उनका लागि सुभ संकेत होइन ।

फिल्म तिमीसँगको रिलिजको बेलामा निर्देशक शिशिर राणाले आकाशलाई रामकहानीको टिमले प्रचार गर्नबाट रोकेको भन्दै आरोप लगाएका थिए । अब त रामकहानी चल्ने बेला नै उनलाई ब्ल्याक र ड्रिम गर्लको प्रचार गर्नुपर्नेछ । यो बेलामा आकाश लफडामा पर्न सक्छन् ।

एकैपटक ३ वटा फिल्मको प्रचार गर्नु, ३ भिन्न अभिनेत्रीहरुसँग इन्टरभ्यू दिनु आकाशका लागि सजिलो काम हुनेछैन । आकाशलाई यो कुराले अहिलेदेखि नै पिरोलेको छ ।

फिल्ममा काम गर्नु कलाकारको काम हो । तर, रिलिज कहिले गर्ने भन्ने फाइनल कलाकार गर्न सक्दैनन् । आकाश अहिले यही निर्णयको विचमा फसेका छन् । आकाशले यो धर्मसंकटलाई कसरी पार लगाउलान् ?