बोर्ड अध्यक्षमा कसको पल्लाभारी ?

दिपेन्द्र घिमिरे- निकिता पौडलको बहिर्गमनसँगै चलचत्रि वृत्तमा नयाँ अध्यक्षको चर्चा सुरु भएको छ । आइतबार सरकारले निकितालाई पद खारेजीको पत्र थमाएसँगै थुप्रै चलचित्रकर्मी नयाँ अध्यक्षको अनुमानमा सक्रिय भएका छन् ।

मेरो फिल्मलाई प्राप्त सूचना अनुसार यतिबेला अध्यक्षको दौडमा मुख्यतः तीन अनुहार देखिएका छन् । केशव भट्टराई, शिव श्रेष्ठ र दयाराम दाहाल । यी तीनबाहेक अध्यक्षको रुपमा विल्सन बिक्रमले पनि केपी ओलीलाई फकाउने प्रयास गरिरहेको बुझिएको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि समय परिस्थिति हेरेर यौ दौडमा होमिन सक्ने सम्भावना छ । उनले सतहमा आएका नाममा सरकार दुविधाग्रस्त देखिए आफूलाई अगाडि लिएर आउने सोच बनाइरहेका छन् ।

जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष केशव भट्टराईले संस्थागत रुपमै अध्यक्षका लागि सिफारिस लिएका छन् । संघले औपचारिक रुपमै भट्टराईलाई अध्यक्षका लागि प्रस्ताव गरेको छ । त्यसैले यो दौडमा भट्टराईलाई सबैभन्दा ‘स्ट्रोङ क्यान्डिडेट’ मानिएको छ ।

भट्टराईपछि अध्यक्षको रुपमा शिव श्रेष्ठको नाम अगाडि आएको छ । शिव श्रेष्ठले प्रधानमन्त्री केपी ओलीसमक्ष आफ्नो दाबेदारी प्रस्तुत गरेको चर्चा छ । शिव श्रेष्ठले प्रधानमन्त्री पत्नी राधिका शाक्यकी आफन्त अन्जान शाक्यमार्फत आफूलाई अध्यक्ष बनाइदिन हारगुहार गरिरहेको स्रोतको दाबी छ । र शिव श्रेष्ठको नाममा प्रधानमन्त्री ओली धेरेथोर सकारात्मक रहेको पनि स्रोतको दाबी छ ।

दौडमा चर्चामा आएको अर्को नाम दयाराम दाहाल भने सञ्चारमन्त्री गोकुल बास्कोटाको तर्फबाट प्रस्तावित नाम हो । अघिल्लो पटक पनि दौडधुप गरेका दाहालले यो साल पनि बाँकी दुई उम्मेद्वारलाई कडा टक्कर दिनेछन् ।

सरकारले भने अध्यक्षका लागि धेरै लुछाचुँडी भए राजनीतिक मान्छेलाई नै नियुत्तिः दिएर पठाउने कि भन्ने पनि मनस्थिति बनाएको स्रोतको दाबी छ । यसरी नै सरकारले तत्कालका लागि भने सञ्चारमन्त्रालयका सह सचिव रामचन्द्र ढकाललाई नै केही दिनका लागि बोर्ड अध्यक्षको जिम्मेवारी दिएर पठाउने सम्भावना रहेको छ ।

पछिल्ला केही वर्ष चासोमा नरहेको बोर्ड पछिल्ला दिनमा धेरैको चासोमा पर्न थालेको छ । अध्यक्षको उम्मेद्वार बन्न चाहानेले विभागीय मन्त्रीलाई मोटो रकम बुझाउन थालेको पनि धेरैको अनुमान छ । राजकुमार राईको पालादेखि सुरु भएको यो शृंखलालाई निकिता पौडेलले पनि निरन्तरता दिएको चर्चा व्याप्त थियो । तर यसको स्वतन्त्र रुपमा भने कतै पुष्टि भएको छैन ।

चलचित्रकर्मी कसको पक्षमा ?

चर्चामा आएका नामहरूमध्ये केशव भट्टराईप्रति धेरै चलचित्रकर्मी सकारात्मक छन् । यही क्षेत्रमा धेरै भोटा फटाएका भट्टराई अध्यक्ष बने निर्माताको प्राथमिकतामा रहेका बक्स अफिस, फिल्म नीति र अन्य कुरा यथावत रुपमा अघि बढ्नेमा फिल्मकर्मी विश्वस्त छन् । भट्टराई वर्तमान चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष पनि हुन् । यसैले उनीमाथि बक्स अफिस लगाउनै पर्ने दबाब रहनेछ भने बाँकी कामका लागि पनि उनीमाथि प्रेसर रहनेछ । त्यसैले फिल्मकर्मीले सतहमा आएका नामहरू मध्येमा भट्टराई आए राम्रो भन्ने ठानेका छन् ।

भट्टराई झैं दयाराम दाहाल पनि चलचित्र क्षेत्रमा लामो समय योगदान गरेका व्यक्ति हुन् । सम्भवतः दाहालाको नाममा सबैभन्दा धेरै हिट फिल्म दिने निर्देशकको पदवी छ । साहित्य लेखनमा पनि रुचि राख्ने दाहाल अध्यक्ष बन्दा पनि खुशी हुने चलचित्रकर्मीको जमात ठूलो छ । तर दाहाल एक्लै हिडिरहेकाले गन्तव्यमा पुग्न सक्दैनन् कि भन्नेमा धेरैको आशंका छ ।

अध्यक्षको रुपमा सतहमा आएको तेस्रो नाम शिव श्रेष्ठमा भने धेरै चलचित्रकर्मी सकारात्मक छैनन् । साइराम भन्दै लामो समय उद्योगभन्दा बाहिर रहँदै आएका श्रेष्ठले यसैसाल फिल्म निर्माण त गर्दैछन् तर उनको सम्पर्क दायरा एकदमै साँघुरो छ । भैंसीपाटीमा क्याफे खोलेर बस्ने श्रेष्ठको अहिले फिल्म क्षेत्रमा चल्तीमा रहेका मुद्दामा खास ज्ञान नभएको पनि धेरैले बताउने गरेका छन् । यस्तोमा शिव श्रेष्ठ अध्यक्ष भए आफ्नो दुनो सोझ्याउने जमातले सजिलै उनलाई आफ्नो इशारामा नचाउन सक्ने जानकारहरु बताउँछन् ।

राजनीतिक नियुक्तिको ठाउँ बन्दै आएको बोर्डमा अध्यक्षहरुले आउने र जाने मात्र काम गरिरहेका छन् । बार्डमा अध्यक्षको रुपमा कार्यकाल बिताउने धेरै व्यक्तिले बोर्डको भवनमा आफ्नो फोटो टाँस्ने बाहेक खास काम नगरेको चलचित्रकर्मीको गुनासो छ । चलचित्रकर्मीको पक्षमा हुनुपर्ने अध्यक्ष सधैं हिन्दी फिल्मको प्रर्वद्धनमा लाग्ने गरेको आम गुनासो छ । यस्तोमा नयाँ बन्ने अध्यक्षले चलचित्रकर्मीले देखिने, सुनिने गरी काम गरे त्यो पदको सार्थकता हुन्थ्यो भन्नेमा सबै एकमत छन् ।