प्रतिक्षा ढिडो र गुन्द्रुकको !

अब नेपाली फिल्मको नाम ढिडो र गुन्द्रुकको प्रतिक्षा गर्दा भयो हैन ? नाम हेर्दा त यो पनि किन नराख्ने भन्ने देखिएन र ?

मह संचार र किरण केसीले फिल्मको नाम ‘दाल भात तरकारी’ राखेका छन् । यो फिल्मले दर्शकलाई हसाँउनेछ । तर, फिल्म नबन्दा नै ‘दाल भात तरकारी’को नामले नै दर्शक हसाँउन थालेको छ । नाम सुन्दा नै यो फिल्मले हसाँएको मात्र छैन, दर्शकले यस्तो नाम पनि हुन्छ भन्न थालेका छन् ।

अब दाल भात तरकारीले दर्शक हसाँइरहेको समयमा ‘मासु भात’ भन्ने फिल्म पनि बन्ने भएछ । सौगात मल्ल र श्रृष्टी श्रेष्ठलाई लिएर ‘मासु भात’ फिल्म बन्न लागेको हो । यो फिल्म पनि हसाँउने नै जनराको होला भन्ने कुरामा त शंका नगर्दा भयो । तर, मासु भात नाम सुनेर दर्शक हाँस्ने मात्र छैनन्, नेपाली फिल्मको नामले अचम्मित पनि हुनेछन् ।

अब त खानेकुराको नाममा फिल्म बनाउने प्रथा सुरु भएको छ । अब अर्को हिट नाम ढिडो र गुन्द्रुक भनेर कसैले दर्ता गरिहाले भने नौलो नमान्दा पनि हुने भयो । भोली पिज्जा र मम, रोटी र तरकारी, चिकेन करी लगायत नाममा फिल्म बन्यो भने पनि ओहो नभन्दा हुने भयो । नेपाली फिल्म बनाउनेले नाम नपाएका हुन् कि, यस्ता नाम राख्दा ध्यान तानिन्छ भनेर सोचेका हुन् ?